काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गरेका हुन् ।
उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए ।
उनले वैदेशिक रोजगारीमा गएकाहरु ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्दारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताए। गृहमन्त्री खाणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भिर रहेको बताए।
उनले भने, ‘भिजिट भिसामा गएकाहरुले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले । त्यो पनि समस्या छ । अर्को कामका लागि गएका तर काम नपाएकाहरुको पनि समस्या छ । यस विषयमा श्रममन्त्रीले मन्त्रीपरिषदमा कुरा राख्नु भएको छ । त्यतापट्टी यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भिर छ । भिजिट भिसालाई अन्य प्रयोजनमा दुरूपयोग नगरुन् त्यतापट्टी नै हाम्रो सजगता हो ।’
बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि बिचौलियाहरुले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाणसँग आग्रह गरे।








