गृहपृष्ठ Featured वर्षौंदेखि अलपत्र लुम्बिनीका दुई पुल

वर्षौंदेखि अलपत्र लुम्बिनीका दुई पुल

रुपन्देही : भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत वनगाईस्थित बेथरी पुलमा सधैँ जाम हुन्छ । लुम्बिनी रोड फोर लेनको भए पनि उक्त पुल साँघुरो भएकाले सवारी साधन दोहोरो सञ्चालन हुन सक्दैन । जसले गर्दा सधैं सवारी जाम हुने गरेको छ भने प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ ।

सडक विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो तर पुलको निर्माणको काम वर्षौंदेखि भएन । जसले गर्दा सडक विस्तारको प्रतिफलसमेत अनुभूति हुन सकेको छैन । उक्त पुल निर्माणको जिम्मा चर्चित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले पाएको हो । उसले लुम्बिनी रोडमा पर्ने तिनाउ खोला र दानव नदीमा पुल बनाउनका लागि ८ वर्षअघि सम्झौता गरेको थियो । तर अहिलेसम्म पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । जसले गर्दा भैरहवाबाट लुम्बिनी जाने आउने यात्रीले निकै सास्ती व्यहोर्नु परेको छ ।

बुटवलबाट दैनिक लुम्बिनी विश्व विद्यालयमा जाने कर्मचारी लेखनाथ न्यौपाने पुल साँघुरो हुँदा ५ देखि ७ मिनेट सधैँ जाममा बस्नुपर्ने बताउँछन् । कहिलेकाहीँ १० मिनेटभन्दा धेरै समय पुलमा पालो पर्खेर रोकिनुपर्ने अवस्था रहेको उनले बताए ।

लुम्बिनीबाट बुटवल आउने कतिपय मानिस त्यही पुलको जामले गर्दा रामापुरको बाटो हुँदै यात्रा गर्ने गरेका छन् । वनगाईस्थित तिनाउ खोलाको पुल र दानव नदीको डण्डा पुल निर्माण आठ वर्ष अगाडि अलपत्र हुँदा बुटवल, भैरहवा हुँदै लुम्बिनी जाने सवारीलाई समस्या परेको पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले बताए ।

सम्बन्धित् समाचार