गृहपृष्ठ Featured रुपन्देहीमा ७ महिनामा २८ बेवारिसे शव फेला, पहिचान गर्नै सकस

रुपन्देहीमा ७ महिनामा २८ बेवारिसे शव फेला, पहिचान गर्नै सकस

भैरहवा : प्रहरीलाई हत्याको अनुसन्धान गर्न सबै भन्दा पहिला मृतकको पहिचान गर्नुपर्ने हुन्छ । मृतकको शनाखत नभईकन प्रहरी अनुसन्धान अगाडी बढ्न सक्दैन । हत्याराको पनि आशय सकेसम्म मृतकको पहिचान नहोस भन्ने नै हुन्छ, त्यसकारण प्रहरीको सफल अनुसन्धानमा मृतकको पहिचान पनि जोडिएको हुन्छ । पछिल्लो केही समय यता रुपन्देही प्रहरी भने हत्या गरिएको यस्ता शवहरुको पहिचान गर्न असफल भएको छ ।

लुम्बिनीमा मायादेवी मन्दिरका छेवैमा पुस ६ गते अज्ञात युवतीको शव फेला परेको थियो । सुरक्षाको दृष्टिले संवेदनशील लुम्बिनीमा मधेशी मुलको जस्तो देखिने अन्दाजी १९ बर्षिय युवतीको शव फेला परे पछि यसले लुम्बिनीको सुरक्षामा नै प्रश्न उठाएको थियो । प्रारम्भिक अनुसन्धानमा हत्या भए जस्तो देखिने ती युवतीको डेढ् महिना पुगि सक्दा पनि सनाखत हुन सकेको छैन् ।

एक साता पहिला रुपन्देहीकै देवदह नगरपालिका वडा नम्बर ८ को जङ्गलमा अन्दाजी ३५ बर्षिय महिला र करिब ७ बर्षकी बालिकाको शव भेटियो । पूर्व पश्चिम राजमार्गको थोरै भित्र घाटी रेटिएको अवश्थामा फेला परेको शवको पनि अहिले सम्म पहिचान नभए पछि प्रहरी अनुसन्धान अगाडी बढ्न सकिरहेको छ्रैन ।

पछिल्लो समय रुपन्देहीमा सनाखत हुन नसकेका शवहरु प्रहरीका टाउको दुखाई त बनेको नै छ उसको कार्यसम्पादनमा समेत प्रश्नहरु उब्जाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार रुपन्देही जिल्लामा चालु आर्थिक बर्षमा २८ वटा शवको सनाखत हुन सकेको छैन । जसमध्ये २१ जना पुरुष ६ जना महिला र १ जना बालिका रहेका छन् । रुपन्देहीको बुटवलमा सबै भन्दा बढी बेवारिसे शवहरु फेला परेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकबाट देखिएको छ । २८ मध्ये २० वटा शव बुटवलबाट मात्र फेला परेको सहायक प्रवक्ता चन्दको भनाई छ । यस्तै मुद्दा चल्ने अन्य ४ वटा प्रहरी ईकाइहरुमा जिल्ला भैरहवामा ३ जना, लुम्बिनीमा २ जना मर्चवारमा २ जना र सैनामैनामा १ जनाको सनाखत हुन सकेको छैन ।

प्रहरीले सीमासित जोडिएर रहेको जिल्ला भएको कारण बेवारिसे शवहरुको पहिचान गर्न सकस हुने गरेको दावी गरेको छ । बेवारिसे शवहरुमा बिशेष गरि सडकमा बसेर मागे खानेहरु रहेको प्रहरीको भनाई छ । प्रहरी सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार यस्ता ब्यक्तिका आफन्तहरु सम्पर्कमै आउदैनन् र खोजतलाश गर्दा समेत फेला पर्दैनन् ।

सम्बन्धित् समाचार