बर्दिया : बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । बाँसगढी नगरपालिका वडा नम्बर ३ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
सडकमा गुडिरहेको ना ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भइ सडकबाहिर पल्टिएको छ । दुर्घटना परी बसमा सवार ३५ जना घाइते भएकोमा उपचार पश्चात् २४ जना डिस्चार्ज भएका छन्। ११ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी कालिकोट सानी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ निवासी ६९ वर्षीया ओमना उपाध्यायको टाउको, हात, खुट्टा र ११ वर्षीया शितला उपाध्यायको टाउकोमा चोट लागेको छ। उनीहरुको अवस्था सामान्य रहेको डिएसपी शाहीले बताउनुभयो।
कालिकोटबाट महेन्द्रनगरतर्फ गैरहेको बस बिहीबार बिहान ३:१० मा दुर्घटना भएको हो। प्रहरीले बसका चालक जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १७ बस्ने किशन सिंह खत्रीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाएको छ।








