गृहपृष्ठ Featured पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ बन्यो

पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ बन्यो

पर्वत : कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको छ। कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याएको हो।

‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तार जस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगिएको छ।

‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फलेक जडान गरेर बेन्च र टेबल निर्माण गरिएको छ। त्यही टेबललाई घिर्नीको माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भीरका माथि तारमा ‘क्याफे’ बिस्तारै हिँडिरहेको हुन्छ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने वेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन्।

‘बन्जी सहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ। हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौँ। स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो’, कार्की भन्छन्, ‘तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ। कालीगण्डकी नदीको सातो जाने भीरमा गुडिरहेको क्याफेको आनन्द लिन आउने पर्यटकहरूको चाप बढी हुन्छ भन्ने लागेको छ।’

कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको ‘द क्लिफ’ का अर्का एकजना सञ्चालक युवराज जोशीले बताए।

अहिले सुरुवाती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा २९ जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाइ छ।

सम्बन्धित् समाचार