दाङ : बाँके र बर्दियामा डाँका चोरी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत रुपैडियाहाका २६ वर्षीय डब्लु मनिहार र बाबाजंगको बाबाकुटीका २८ वर्षीय निजामुद्दिन कबडिहा रहेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय खुद्रा खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले शनिबार कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका भारतीय नागरिकले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितलबजारका पर्शुराम सार्कीको घरमा पेस्तोल देखाएर शनिबार बिहानी पख तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए।
त्यसअघि माघ १७ गतेपनि यही समुहले बाँकेको खजुरा गाउँपालिका ‘डी’ गाउँका हरिप्रकाश विकको घरमा पेस्तोल देखाउर नगद ५० हजार, तीन तोला पाँच आनाको सुनका गरगहना र मोटरसाइकल लुटेर लगेका थिए।
उनीहरूले चोरी गरेको २५० सिसीको पल्सर मोटरसाइकल माघ १८ गते साँझ बर्दियाको बढैयाताल गाउँपालिका-५ बढैयातालनजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको बाँके प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए।
पक्राउ परेकाहरू उपर डाँका चोरी मुद्दा लगाउने तयारी प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी न्यौपानले बताए।








