राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो। जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार १ सय ६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय २१ निर्माण गरिने भएको छ।
मन्त्री पौडेलका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट १४ विद्यालयका लागि अनुदान ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित ८८ विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि ८८ करोड रकम छुट्याइएको छ।
राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ। विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए। ‘देशभरका विद्यालयको भौतिक संरचना, आइसीटी व्यवस्थापन गर्ने अभियानमा छौं,’मन्त्री पौडेलले भने, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई सम्बोधन गछौं।’
देशका ७ सय ३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए। जसमा ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आइसीटी ल्याब, १ सय १७ विद्यालयले नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेलमैदानका लागि ९४७ विद्यालयले आवेदन दिएका थिए।







