गृहपृष्ठ Featured बाँकेमा पेस्तोल र खुँडासहित ३ जना पक्राउ

बाँकेमा पेस्तोल र खुँडासहित ३ जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले अटोमेटिक पेस्तोल र खुँडासहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका– १२ का दीपेन्द्र अधिकारी, वडा नं १८ का सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने ९ राउण्ड गोली र खुँडासहित मंगलबार डुडुवा गाउँपालिकाको राप्ती पुलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले डुडुवास्थित ४ राप्ती पुल नजिकै गोली चलेको आवाज आएपछि इप्रका वनकट्टी (क) बाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको बताए ।

सुशान्त केसीले चलाएको वाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी रोकेर जाँच गर्दा पेस्टोल, गोली र खुँडा बरामद भएको प्रहरीको भनाइ छ। उक्त पेस्तोल दिपेन्द्रले तीन महिनाअघि नै भारतको लखनउबाट असरफ अलीसँग ५० हजारमा खरिद गरेर ल्याएको खुलेको छ । दिपेन्द्र यसअघि पनि आपराधिक घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार दिपेन्द्रविरूद्ध यसअघि बाँकेमा चोरी, लागूऔषध,जबर्जस्ती करणी लगायत सात वटा विभिन्न मुद्दा रहेको छ। अहिले ती सबै मुद्दा अदालतमा विचाराधीन रहेका छन् ।

सम्बन्धित् समाचार