गैरआवासीय नेपाली संघ ९एनआरएनए०को १०औं महाधिवेशन चैत्र १० र ११ गते काठमाडौंमा हुने भएको छ। मंगलबार एनआरएनएले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले एनआरएनए एक र एकतावद्ध रहने दाबी गर्दै नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भुमिका खेल्ने बताए। पन्तले अधिवेशनबाट तीनैजना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको उल्लेख गरे।
त्यस्तै अध्यक्षका उम्मेदवार डा। बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताए। उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै अध्यक्षका तीनै प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताए।
अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए। उनले सबै गैरआवासीय नेपालीहरुले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि उल्लेख गरे।
त्यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरुलाई समाधान गरेर सहमतिमा अघि बढ्ने बताइन्। उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति र सहकार्यबेगर अघि लैजान गाह्रो भएको प्रष्ट पारिन्।








