गृहपृष्ठ Featured ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो प्राथकिता : राष्ट्रपति भण्डारी

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो प्राथकिता : राष्ट्रपति भण्डारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत् उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो प्राथमिकताको विषय भएको बताएकी छन् ।

शनिबार काठमाडौँमा हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सीमापार प्रसारण लाइनमार्फत् नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेको भन्दै जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिन् ।

ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको दिशामा केन्द्रित भएको भन्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने दिशामा केन्द्रित हुनसमेत आग्रह गरिन् । त्यस्तै, उनले जलवायु अनुकूलन तथा हरियाली प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन् ।

कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जा उद्यमीको खर्बौँको लगानी जोखिममा रहेको भन्दै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

उनले अहिले वर्षायाममा बढी भएको विद्युतको उपयोग गर्न खपत बढाउने र निर्यात बढाउने काममा सरकारको ध्यान जानुपर्ने धारणा राखे ।

जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको हो । एक्सपो तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।

हाइड्रो पावर निर्माता, हाइड्रो पावर सामान उत्पादक, डिजाइनर, सप्लायर, लगानीकर्तालगायतको सहभागिता रहेको छ ।

सम्बन्धित् समाचार