पोखरा : कालीगण्डकी नदीमाथि निर्माण भइरहेको स्याङ्जा र पाल्पा जोड्ने पुल आइतबार साँझ भत्किँदा ८ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।
घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाका २३ वर्षीय सृजन परियार छन् । ‘सबैको पाल्पामा उपचार भइरहेको छ ।
घाइतेमध्ये ३ जनाको अवस्था नाजुक छ,’ प्रवक्ता न्यौपानेले भने ।
रामपुर नगरपालिका-६, प्याकलुङ र चापाकोट नगरपालिका-८, दामाचौर जोड्ने गरी कालीगण्डकीमा पुल निर्माण भइरहेको थियो । उक्त पुलमा आइतबार साँझ क्रेनले बिम जोड्ने क्रममा ‘असावधानीवश छोएर’ बिमसँगै कामदार खस्दा घाइते हुन पुगेको उनले जानकारी दिए ।








