गृहपृष्ठ Featured गभर्नर अधिकारीमाथिको कारबाही फिर्ताको माग गर्दै राष्ट्र बैंकका कर्मचारी आन्दोलित

गभर्नर अधिकारीमाथिको कारबाही फिर्ताको माग गर्दै राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही फिर्ता लिन माग गर्दै नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन्। अधिकारीलाई गरेको निलम्बनको विरोधस्वरुप नेपाल राष्ट्र बैंक संघमा आवद्ध कर्मचारीले आइतबार केन्द्रीय कार्यालय परिसरमा कालो ब्यानर झुण्ड्याएका छन्। चैत्र २५ गतेको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अबिलम्बन फिर्ता गर, र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्दारका लागि तत्काल विशेष नीतिको तर्जुमा गरी कार्यान्वयन गर’, भन्नेजस्ता नाराहरु लेखिएको कालो ब्यानर कार्यालयको अगाडि झुन्ड्याइएको छ।

संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले जब जब राज्य संचालनहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त भइ वित्तीय माफियाहरुको चंगुलनमा फस्ने गर्छन् तब तब नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए।

हालको गभर्नर माथिको आक्रमण नयाँ नभइ यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताउँदै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्वमाथि हुने गरेका आक्रमणमाथि कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधमा उत्रिदै आएको समेत बताए।

यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराई निलम्बनमा परेका थिए।

सम्बन्धित् समाचार