काठमाडौं : चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ ।
चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । अहिले यातायात व्यवस्था कार्यालय विगतमा सेवाग्राहीले भरेका फारमबाट परीक्षा सञ्चालन गरिरहेका छन् । विभागले भने अनुमतिपत्र छपाइसँगै नयाँ ‘एप्लिकेसन’ बनाउन लागेको छ । अनलाइन फारम भरेकाबाट परीक्षा १५ दिनभित्र क–कसको लिइने भनी प्रकाशित गरिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । त्यो चरणमा पालो आएका सेवाग्राहीले कुन कार्यालयबाट र कुन दिन परीक्षा दिने भनी छान्न पाउने उनले जानकारी दिए ।
उनले भने, “कार्यालयले यति सिट खाली भनेर देखाएपछि खालीमध्येको यो म बुकिङ गर्छु भनेर अनलाइनबाटै गर्न सक्नेछन् ।” यसअघि कार्यालयले जुन दिन भन्यो त्यही दिन जानुपर्ने भए पनि अब दुई साताभित्र कुन दिन जाने भनी सेवाग्राही आफैँले खाली भएमा छानेर जान सक्ने प्रवक्ता पनेरुले बताए । उनका अनुसार बस वा हवाईजहाजमा अनलाइन टिकट लिन जसरी नै कति सिट छ हेरेर खालीमा जान सकिन्छ त्यसैगरी आफ्नो परीक्षाको दिन बुकिङ गर्न पाइनेछ ।








