“नेपालका प्रचलित कानुनलाई बेवास्ता गरी निजी सम्झौता गरेर विदेशी कम्पनीको सेवा लिनुले समग्र निर्णय प्रक्रिया र क्यानको नियतमाथि नै धेरै प्रश्न खडा गर्ने मात्र होइन, यो गैरपारदर्शी, स्वेच्छाचारी काम पनि हो । यसले हाम्रो कानुनी र संवैधानिक अधिकारको गम्भीर अतिक्रमण गरेको छ,” ईपीएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ईपीएल र ६ फ्रेन्चाइजीहरूले नेपालको प्रचलित कानुनबमोजिम उपयुक्त कानुनी बाटो खोज्ने सर्वसम्मतिले निर्णय गरेका छौँ । तसर्थ, क्यानको गलत निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै माननीय सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । हामीलाई पूर्ण विश्वास छ र न्यायपालिकाले हामीलाई उचित न्याय दिनेछ भन्ने विनम्र विश्वास छ ।”
क्यानले जेठ ४ गते युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजमार्फत नेपाल ट्वान्टी–२० लिग असोज ८ गतेबाट गर्ने घोषणा गरेको थियो । सोही घोषणा समारोहमा अध्यक्ष चतुरबहादुर चन्दले अब नेपालमा क्यानले आयोजना गर्ने नेपाल ट्वान्टी–२० लिगबाहेक अन्य लिगले मान्यता नपाउने बताएका थिए ।








