गृहपृष्ठ Featured जोकोभिचविरुद्ध नाडालको ५९औं खेल !

जोकोभिचविरुद्ध नाडालको ५९औं खेल !

काठमाडौं : नोभाक जोकोभिच र राफेल नाडाल दुवैले खेलेको फ्रेन्च ओपन यस वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता हो । र, टेनिसका यी दुई महान् खेलाडी फ्रेन्च ओपनको क्वार्टरफाइनलमा कीर्तिमानी ५९औं पटक आमने–सामने हुँदै छन् । त्यसकारण टेनिस र खेलकुदमा चासो राख्ने जो केही पनि यसबाट रोमाञ्चित छन् ।

तर, दुःखद् कुरा । यो फाइनल खेल होइन । क्वार्टरफाइलन मात्र हो । त्यसकारण जोकोभिच र नाडालबीचको प्रतिस्पर्धा हेर्न मंगलबारको रात कोर्टमा त्यही संख्यामा दर्शक उपस्थित हुन्छन् त ? जति फाइनल खेलमा हुन्थे ? यसमा भने शंका छ ।

र, त्यही कारण दुई खेलाडीको जोशमा कमी आउने त होइन ? त्यो सम्भावना नै छैन । “यस खेलका लागि म पूर्ण तयार छु,” जोकोभिचले भन्छन् । नाडाल पनि यसका लागि तयार छन्, “आशा छ, मेरो तर्फबाट सम्भव भएसम्मको उच्च स्तरको प्रदर्शन गर्नेछु । हेरौं के हुन्छ ।”

तयारी दुवैले आफ्नो तरिकाले गरेका छन् । तर, दुवैको मनमा एउटा समान कुरा खेलिरहेका हुनसक्छ । त्यो भनेको, अब कतिपटक हामी फेरि आमने–सामने हुनेछौँ ?

नाडाल गत शुक्रबार ३६ वर्षमा प्रवेश गरे । जोकोभिच भने २२ मेमा ३५ वर्षका भए । त्यही दिन फ्रेन्च ओपन सुरु भएको थियो । त्यसकारण दुवैले अर्को प्रतियोगिता खेल्छन् कि खेल्दैनन् भन्नेमै शंका छ । “मलाई नै थाहा छैन । निकट भविष्यमा मेरो करियर कसरी अगाडि बढ्छ भनेर,” नाडालले भने ।

नाडालको शारीरिक अवस्था मुख्य चासोको विषय हो । पछिल्लो १२ महिना उनी चोटबाट गुज्रिरहेका छन् । उनले चोटकै कारण गत वर्ष आधा सिजन गुमाएका थिए । उनले विम्बल्डन र यूएस ओपन खेल्न पाएका थिएनन् । उनको बायाँ खुट्टामा चोट लागेको थियो । साथै, उनको नाडीमा पनि चोट लागेको थियो ।  “म धेरै गुनासो गर्न सक्दिनँ,” २१ वर्षे फेलिक्स अगर–एलिसिमेलाई पाँच सेटमा हराएपछि नाडालले भने, “साँचोभन्दा मैले यहाँ खेलेको प्रत्येक खेल फ्रेन्च ओपनकै अन्तिम हुने हो कि भन्ने लाग्छ । मेरो अहिलेको अवस्था यही हो । त्यसकारण म सक्दो धेरै रमाउने प्रयास गर्दै छु ।”

नाडालले अगर–एलिसिमेलाई हराउन साढे चार घण्टा लगाएका थिए । ठीक विपरीत जोकोभिचले १५औं वरीयताका डिएगो स्चवार्टजमनलाई ३–० को सोझो सेटमा हराएका हुन् । पछिल्लो चार खेलमा जोकोभिचले एउटा सेट पनि गुमाएका छैनन् ।
“उनी जोकोभिच हुन्,” हारपछि स्चवार्टजमनले भनेका छन्, “यदिऽ तपाईं शतप्रतिशत दिन सक्नुहुन्न भने… पक्कै पनि यस्तै नतिजा आउने हो ।”

कोभिड–१९ विरुद्धको खोप नलगाएका कारण जोकोभिच अस्ट्रेलियन ओपन खेल्नबाट वञ्चित भएका थिए । उनी अस्ट्रेलिया गए पनि त्यहाँको सरकारले जोकोभिचलाई डिपोर्ट गरिदिएको थियो । जुन २७ बाट सुरु हुने विम्बल्डनमा भने जोकोभिचलाई केही समस्या हुनेछैन । तर, यूएस ओपनको अवस्था भने अझै निश्चित भइसकेको छैन ।

सम्बन्धित् समाचार