गृहपृष्ठ Featured नेपालगञ्ज झडप : ९ जना प्रहरीसहित केही सर्वसाधरण घाइते

नेपालगञ्ज झडप : ९ जना प्रहरीसहित केही सर्वसाधरण घाइते

नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन् । झडपमा परेर ९ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन् ।

झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयौँ राउन्ड हवाई फायर गरेको थियो । राष्ट्रवादी युवा समूहले चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राखेका थिए । राखेको सालिक प्रहरीले हटाएपछि उक्त समूहले न्युरोडमा रहेको सहिद सेतु बिकको सालिकसमेत तोडफोड गरेको छ । धम्बोझीचोकमा राखिएको पूर्वराजा वीरेन्द्रको अर्धकदको सालिक प्रहरीले हटाउँदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने देखिएपछि प्रहरीले फायर खोलेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ । आक्रोशित राष्ट्रवादी युवा समूहले सेतुबिक चोकमा रहेको सहिद सेतुको शालिकसमेत तोडफोड गरेपछि प्रहरीले धम्बोझी चोक र सेतु बिक चोकलाई घेरा हाल्नुको साथै बीपीचोक, पुष्पलाल चोकमा पनि सुरक्षा सर्तकता बढाएको छ ।

तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएको आज २१ वर्ष पूरा भएको दिन पारेर सालिक पुनःस्थापना गरिएको थियो । २०६२/०६३ को जनआन्दोलनमा वीरेन्द्र चोकमा रहेको स्वर्गीय राजा वीरेन्द्रको सालिक भत्काइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले घटनास्थलमा पुगेर नेपालगञ्जमा कायम रहेको सामाजिक सद्भावमा खलल नपुर्‍याउन आग्रह गरेका छन् । -रासस

सम्बन्धित् समाचार