नेपालगन्ज : बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।
प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको उनले बताए । किशोरीलाई सुरुमा मानखोलाको जंगलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
‘आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्याउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता लाग्यो ।’ बाँकेका डीएसपी न्यौपानेले भने, ‘अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको छ ।’
प्रहरीले अभियुक्तहरू हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखिएको छ ।
कसरी भयो घटना ?
प्रहरीका अनुसार नेपालगञ्जबाट शनिबार ४ बजेतिर बस चढेर मानखोला पुगेकी किशोरीसँग पहिले हेमराज र उनका साथी बिक्रान्तले भेटेका थिए । त्यसपछि बिक्रान्तको मोटरसाइकल चढेर तीनै जना बढैया ताल पुगे । त्यहाँ घुमफिर गरे । त्यसपछि उनीहरु मानखोलाको फूलबारीमा बेलुकी छ बजेदेखि राति १२ बजेसम्म जन्मदिनको भोज गरे । जन्मदिन मनाउने कार्यक्रममा निराजन थारु, प्रविण थारु र राजकुमार थारु पनि सहभागी थिए । उनीहरुले भोजमा घरेलु मदिरा पनि सेवन गरेका थिए ।
‘उनीहरुले किशोरीलाई पनि मदिरा पिलाए,’ डीएसपी न्यौपानेले भने, ‘त्यसपछि उनीहरुले पालैपालो किशोरीलाई बलात्कार गरेको बयान दिएका छन् ।’
बलात्कारपछि किशोरी बेहोस भएकी थिइन् । उनीहरुले किशोरीलाई मोटरसाइकलमा राखेर बैजनाथ वडा नं. ८ पिपरीमा बिक्रान्त थारुले बंगुर पाल्दै आएको टिनको टहरोमा पु¥याएको बयान दिएका डीएसपी न्यौपानले बताए । गोठमा पनि दुई जनाले बलात्कार गरेको किशोरीले प्रहरीसँग बताएकी छन् ।
गोठमा अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पुर्याइदिने भन्दै बिक्रान्तको भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा राखेर नेपालगञ्जतर्फ लगेका थिए ।
नेपालगञ्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङ थियो । पछिल्लो समयमा पशु तस्करी बढेकाले प्रहरीले राति पनि गस्ती गर्ने र चेकिङ गर्ने क्रम बढाएको थियो ।
खजुरा गाउँपालिका–५ को प्रतीक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीको नजर बेहोस किशोरीलाई लिएर आइरहेको मोटरसाइकलमा पर्यो । एक जना युवकले मोटरसाइकल चलाएका थिए भने अर्का युवकले किशोरीलाई बोकेका थिए ।
किशोरीलाई अर्धचेत अवस्थामा देखेपछि आफूहरुले चौकीमा ल्याएर सोधपुछ गरेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मी बताउँछन् । ‘किशोरी जब होसमा आइन्, उनले नै आफूमाथि बलात्कार भएको बताइन्,’ रेग्मीले भने, ‘त्यसपछि उनीहरुकै बयानका आधारमा थप ५ जना पक्राउ गर्यौं ।’








