गृहपृष्ठ Featured कला र संस्कृति राष्ट्रको पहिचान हो : राष्ट्रपति भण्डारी

कला र संस्कृति राष्ट्रको पहिचान हो : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कला र संस्कृति राष्ट्रको विशिष्ट पहिचान भएको बताएकी छन्। साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले प्राचीन समयदेखि नै हाम्रा पूर्वजहरुले मौलिक कला र संस्कृतिको महत्व बुझेर तिनको जगेर्णा गर्न हामीलाई प्रेरित गर्दै आएको उल्लेख गरिन्।

‘कला र संस्कृति कुनै पनि राष्ट्रको विशिष्ट पहिचान हो। समकालीन विश्वमा कुनै पनि मुलुकको सभ्यता कति समृद्ध रहेको छ भन्ने कुरा आफ्नो मौलिक संस्कृतिको विकास र प्रवर्द्धनका लागि त्यहाँको समाज र राष्ट्रिले कसरी योग्दान गरिहेको छ भन्ने दृष्टिबाट समेत मापन गरिँदै आएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्,‘ यस सन्दर्भमा नाटक, गीत, संगीत,  नृत्य,  बाद्यावादनलगायत प्रस्तुतीजन्य कला विभिन्न विधाहरु नेपालको मौलिक संस्कृति र सभ्यताको निर्माणमा गरिरहेको योग्दान अमूल्य छ।’

यसैले नेपाली रंगमञ्च, संगीत र नृत्य कलालाई समुन्त बनाउन योग्दान गर्ने स्रष्टा र नेतृत्वकर्ताहरुमा कृतज्ञता व्यक्त गर्दै उनले भनिन्, ‘म भन्न चाहन्छु, नेपाल राष्ट्रले तपाईँहरुको सिर्जना गर्व गर्छ। गर्व गरिरहनेछ।’

नेपाली नाटक, गीत, संगीत र नृत्य कलाको संस्थागत विकास, संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले सरकारी स्तरबाटै २०१८ सालमा राष्ट्रिय नाचघरको स्थापना गरिएको थियो। २०२९ असार ५ गते राष्ट्रिय नाचघरलाई नाम फेर्दै साँस्कृतिक संस्थान राखिएको थियो। नेपालीहरुको संस्कृतिको संरक्षण र सम्वर्द्धनमा क्रियाशिल संस्कृतिक संस्थानले ५० वर्षको इतिहास बनाउनु आफैँमा गौरवको कुरा रहेको राष्ट्रपति भण्डारीले बताइन्।

‘साहित्य, कला र संगीतले असल मानवीय भावनाको समेत प्रवर्द्धन गर्दछ,’ उनले भनिन्, ‘कला र सिर्जनाका यी हरेक विधा जीवनका बहुआयाम र बहुरंगलाई समेट्ने माध्य भएकाले प्राचीनकालदेखि नै मानव सभ्यता त्यसतर्फ सधैं आकर्षित र उत्प्रेरित रहेको छ।’

सूचना, सञ्चार तथा प्रविधि तीव्र विकासले नेपालको मौलिक कला र संस्कृतिमाथि विदेशी संस्कृति हाबी भएकोमा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरिन्। ‘विदेशी संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक कला र संस्कृतिहरु ओझेलमा पर्नसक्ने खतरासमेत उत्पन्न भएको छ,’ उनले भनिन्, ‘त्यसर्थ हाम्रा स्रष्टाहरुले विश्वव्यापी स्रोता र दर्शकलाई लक्षित गरी व्यवस्थित प्रस्तुती र उत्कृष्ट प्रदर्शन क्षमताको  विकास गर्नु आवश्यक छ।’

विशिष्ट कामय राख्दै आफ्नो रंगमञ्च, साँस्कृतिक साजबाज र प्रस्तुतीको ढाँचामा समेत व्यापक सुधार  गरिनुपर्ने आफूलाई महसुस भएको उनले बताइन्।

सम्बन्धित् समाचार