सागर वि.क. (वैखरी अनलाईन) : बाणगंगा नगरपालिका बाल श्रम मुक्त नगर घोषणा भएको छ । शुक्रबार बाणगंगा नगरपालिकाको एघारौं नगरसभा तथा आगामी आर्थिक बर्षको बजेट सार्वजनिकरण कार्यक्रममा बाणगंगालाई बालश्रम मुक्त नगर घोषणा गरिएको हो । ११ वडा रहेको बाणगंगामा सबै वडालाई बालश्रम मुक्त गरेर सिंगो नगर बालश्रम मुक्त भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
बालश्रम मुक्तका लागि चाहिने सबै सूचक पूरा भएसंगै बाणगंगालाई बालश्रम मुक्त नगर घोषणा गरिएको उनले बताए । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले महिला हिंसा मुक्त नगर घोषणाको अभियानमा लाग्नुपर्ने बताईकि छिन् । भौतिक विकासले मात्र नगर समृद्धि नहुने भन्दै उनले बाणगंगा नगरपालिकालाई महिला हिंसा मुक्त नगर घोषणा गर्नुपर्ने बताईन् ।
शुक्रबार बाणगंगा नगरपालिकाको एघारौं नगरसभा तथा आगामी आर्थिक बर्षको बजेट सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘बाणगंगालाई महिला हिंसा मुक्त नगर घोषणा गर्नुपर्छ, यसको लागी मैले बेलाबेलामा विगतदेखि नै आवाज उठाउँदै आएकी छु ।’
विगतदेखि नै आफुले यस विषउलाई उठाउदै आएको उनले स्मरण गरिन् । उनले विदेशी भ्रमणलाई त्यागेर अन्तर पालिका भ्रमणलाई जोड दिनुपर्ने बताईन् । जिल्ला समन्वय समितिलाई आफुले पहिलेदेखि नै अन्तर पालिका भ्रमणका लागी वातावरण सिर्जना गर्न आग्रह गरेको स्मरण उनले विगतमा त्यसको सुनुवाई नभएको गुनासो गरिन् ।
आफुले यस क्षेत्रका लागी केन्द्रमा विभिन्न योजना अघि सोरेको तर सरकार परिवर्तनसंगै ती योजनाहरु कटौति भएको उनको दुखेसो छ । उनले दलगत स्वार्थलाई त्यागेर विकासको काममा अघि बढ्न आग्रह गरिन् ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले नगर विकासको गति जनतासंग जोड्नु पर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण बाणगंगाको विकास सम्भावना उच्च रहेको बताए । उनले प्रत्यक्ष जनताले अनुभूति गर्ने गरि काम गर्न आग्रह गरे ।
नगर प्रमुख चक्रपाणी अर्यालले विगतमा विकास निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्ने दिशामा लाग्ने प्रतिवद्धता जनाएका छन् । उनले जनताको नजिकको सरकार स्थानीय सरकारलाई जनतासंग जोड्नु पर्ने आवश्यकतालाई बुझेर जनप्रतिनिधि र कर्मचारी लाग्नुपर्ने बताए । उनले हालसम्म सबैले सल्लाह सुझाव प्राप्त भई साथ मिलेको भन्दै खुशी पनि व्यक्ति गरे ।
बाणगंगा ४ का वडाध्यक्ष छविरेस्मी मगरको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था, नागरिक समाज, विद्यालय, सामुदायिक वनका प्रमुख तथा प्रतिनिधिहरुले सुझाव सहित मन्तब्य राखेका थिए ।
बजेट सार्वजनिक कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति थियो ।








