गृहपृष्ठ Featured अर्थतन्त्र चलायमान हुने खालका मौद्रिक नीति ल्याउन सांसदको सुझाव

अर्थतन्त्र चलायमान हुने खालका मौद्रिक नीति ल्याउन सांसदको सुझाव

काठमाडौँ : अर्थतन्त्र चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सांसदहरूले राष्ट्र बैंकलाई सुझाव दिएका छन् । संघीय संसद्को अर्थ समितिले आगामी मौद्रिक नीतिका सम्बन्धमा सोमबार गरेको छलफलमा सांसदहरूले अर्थतन्त्र संकटमा रहेकाले अवस्था थप नबिग्रने र आर्थिक गतिविधि चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको उपयोग सम्बन्धमा राष्ट्र बैंकले क्षेत्रगत रुपमा सूक्ष्म अध्ययन गर्नुपर्ने बताए । ‘आयातसँगै शिक्षा स्वास्थ्य पर्यटनलगायत धेरै स्रोतबाट पनि विदेशी मुद्रा बाहिरिएको छ,’ उनले प्रश्न गरे, ‘तिनलाई नियन्त्रण कसरी गर्ने भन्नेबारे राष्ट्र बैंकले कसरी हेरेको छ ?’

चालु आर्थिक वर्षको १० महिनामा विदेशमा अध्ययनकै लागि करिब ५१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकको तथ्यांक उल्लेख गर्दै उनले भने, ‘विदेशमा अध्ययनकै लागि दिएको सुविधाको गलत प्रयोग भएको छ नि ! यसबारेमा पुनर्विचार गर्नुपर्ने हो कि ?’ केही राष्ट्रले नेपालका विद्यार्थी आकर्षित गरेर राम्रो आम्दानी गरिरहेको स्मरण गर्दै उनले थपे, ‘ती राष्ट्रहरूले नेपालमा कति सहयोग गरेका छन् ? न्यून सहयोग गरेर हाम्रा विद्यार्थीहरूबाट धेरै फाइदा लिइरहेका छन् कि ? यी विषयमा पनि विस्तृत अध्ययन गरेर तथ्य बाहिर ल्याउनु पर्‍यो ।’

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद गोकर्णले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढिरहेकाले थप लगानी निरुत्साहित हुने र त्यसले उत्पादन रोजगारीलगायत विषयमा संकुचन आउने होकि भन्नेबारे पनि सचेत हुन राष्ट्र बैंकलाई सुझाएका थिए । ‘आयात घटाउने, वैधानिक प्रणालीमा रेमिट्यान्स भित्र्याउनेलगायत विषयमा नेपालले उपयोग गरेका नीतिहरू परम्परागत खालका छन्, जसका कारण अपेक्षित रुपमा सफलता हासिल हुन सकिरहेको छैन,’ उनले थपे, ‘अब विदेशी राष्ट्रहरूको अभ्यास र अनुभव हेरेर विद्यमान समस्या समाधानका लागि नयाँ सिराबाट पनि सोच्ने कि ?’

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा निरन्तर उकालो लागिरहेको मूल्यवृद्धि नियन्त्रणका लागि पनि ब्याजदर बढाउनु पर्ने बताएका थिए ।

सम्बन्धित् समाचार