दाङको तुलसीपुर– १२ टरिगाउँस्थित विमानस्थलमा निर्माण भइरहेको इन्धन डिपोस्थलमा स्थानीयले तालाबन्दी गरेका छन्। विमानस्थलमा आएको बाउजर लिन काठमाडौंबाट टोली आएपछि त्यसलाई रोक्न स्थानीयले तालाबन्दी गरेका हुन्।
काठमाडौंबाट रामेछाप लैजाने तयारी भएको भन्दै त्यसलाई रोक्न यस क्षेत्रका जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायत सरोकारवालाले तालाबन्दी गरेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन्। ‘एयरपोर्टमा बाउजर आएपछि यस क्षेत्रका नागरिक खुसी थियौँ,’ उनले भनिन्, ‘तर, इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको वेला बाउजर लैजान खोजेपछि हामीलाई शंका लागेको छ।’
काठमाडौंबाट तीन–चारजनाको टोली आएर उक्त बाउजरलाई आजै काठमाडौं लैजाने तयारी गरेपछि इन्धन डिपोस्थलको दुईवटा गेटमा तालाबन्दी गरिएको तुलसीपुर– १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए। विमानस्थल विस्तारको पहल भइरहेको वेला यसरी बाउजर लैजान खोज्नुले विमानस्थलप्रति षड्यन्त्र भएको हुन सक्ने भन्दै कुनै पनि हालतमा बाउजर लैजान नदिन तालाबन्दी गरिएको उनको भनाइ छ। यसपटक केन्द्रको बजेटले पनि सम्बोधन गरेको भन्दै विमानस्थलको स्तरवृद्धिको काम भइरहेको वेला यसरी बाउजर लैजानु गलत मनसाय भएको वडाध्यक्ष चौधरीले बताए।
विगतमा दाङ ल्याउने भनिएको बाउजर एकैपटक जनकपुर लगिएको इतिहास भएको भन्दै आइसकेको बाउजरलाई लिन खोज्नुले शंका उत्पन्न भएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए। ‘बाउजर लैजाँदै छन् भन्ने हिजो दिउँसो ३ बजेतिर मलाई खबर आएको थियो,’ उनले भने, ‘विगत दुई वर्षअघि तुलसीपुर ल्याउने भनिएको बाउजर जनकपुर लगिएको इतिहास पनि छ, अहिले पनि आइसकेको बाउजर लिनुले शंका उत्पन्न भएको छ।’








