गृहपृष्ठ Featured शहरी विकास मन्त्री चौधरीले कृष्णनगरमा पुगेर खाँ परिवारलाई सान्त्वना दिए

शहरी विकास मन्त्री चौधरीले कृष्णनगरमा पुगेर खाँ परिवारलाई सान्त्वना दिए

हरी विकास मन्त्री मेटमणी चौधरी गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले कार्यकर्ताको कुटाईबाट मृत्यु भएका मोहम्मद अरमान खाँको घरमा सान्त्वना दिन पुगेका छन् ।

 

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १० खैरा गाउँका मोहम्मद अरमान खाँको एक हप्ता पहिला उपचारको क्रममा निधन भएको थियो । उनी नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ता थिए ।

खाँको निधन पछि शोकाकुल बनेको घरपरिवारलाई सान्त्वना दिन मन्त्री चौधरी मंगलबार उनको घरमा पुगेका हुन् ।

खाँको घरमा पुगेका चौधरीले दोषिमाथि कानुनी कारबाही हुने र मृतक परिवारजन प्रति समवेदना प्रकट गरेका थिए ।

 

साथै मन्त्री चौधरीले खाँका एक जना छोरालाई जागीरको प्रबन्ध मिलाइदिने प्रतिवद्धता जनाएको एकीकृत समाजवादीका कृष्णनगर नगर कमिटी अध्यक्ष इन्तेखाव अहमद खाँले बताए ।

आर्थिक रुपले विपन्न खाँलाई बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एमाले कार्यकर्ताले निर्घात रुपमा कुटपिट गरी हत्या गरेका थिए ।

 

खाँ स्थानीय तहको चुनावमा एकीकृत समाजवादीबाट पार्टी प्रतिनिधि थिए । एमाले कार्यकर्ताले भोटिङ कार्ड बिना नै मतदान गर्न मतदानस्थलमा आफ्ना मान्छे प्रवेश गराए पछि खाँले उक्त क्रियाकलाप आफ्नो मोबाइलबाट खिचेका थिए ।

उक्त भिडिओको विषयलाई लिएर दुबै पक्ष बीच झगडा हुँदा घटनाले हिंसाको रुप लिएको थियो ।

 

१० जना एमाले कार्यकर्ताले खाँलाई घटना घट्ने दिन राति घरमा पुगेर निर्घात कुटपिट गरेका थिए ।

 

कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका खाँलाई उपचारका लागि बुटवलको चौराह अस्पतालमा रिफर गरिएको थियो ।

खाँलाई झण्डै २० दिन जति कोमामा राखेर उपचार गरेपनि स्थिति सामान्य नभए पछि चिकित्सकले घरमा पठाएका थिए । घरमै घाइते अवस्थामा रहेका खाँको अन्ततः निधन भएको हो ।

खाँको कुटपिटमा संलग्न १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ ।
जसमध्ये तीन जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।

सोमबार मात्रै आरोपित मध्ये थप दुई जना पक्राउ परेका कपिलवस्तु प्रहरीका प्रहरी उपरीक्षक तथा प्रवक्ता जेसी शाहले मायादेवी अनलाइनलाई बताए ।

बाँकी ५ जना आरोपित फरार रहेका छन् । सुरुवातमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत कपिलवस्तुले ८ लाख धरौटीमा रिहा गरेको वडा नं. १० का निवर्तमान वडाध्यक्ष अब्दुल मोविन खाँले जानकारी दिए ।

मृतकका आफन्त समेत रहेका मोविन खाँले कुटपिटमा संलग्न विरुद्ध कानुन अनुसार कारबाहीको माग गरेका छन् ।

मृतकको खाँको परिवारलाई सान्त्वना दिन मन्त्री चौधरीसंगै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंक बहादुर हमाल, लुम्बिनी प्रदेश कमिटी सदस्य जिवलाल पौडेल, सचिव ओमप्रकाश कुर्मी लगायत पुगेका थिए ।

सम्बन्धित् समाचार