गृहपृष्ठ Featured लिभरपुलमाथि युनाइटेडको रवाफ

लिभरपुलमाथि युनाइटेडको रवाफ

काठमाडौं । लगातार दोस्रो हारपछि दबाबमा रहेको म्यानचेस्टर युनाइटेडले सोमबार राति उत्कृष्ट प्रदर्शन गर्दै घरेलु मैदान ओल्ड ट्राफोर्डमा चीर प्रतिद्वन्द्वी लिभरपुलमाथि २–१ को विजय हासिल गरेको छ । यससँगै इरिक टेन ह्यागको प्रशिक्षणमा युनाइटेडले प्रतिस्पर्धात्मक खेलमा पहिलो जित निकाल्न सफल भएको छ ।

युनाइटेडका प्रशिक्षक टेन ह्यागले कप्तान ह्यारी म्यागुएर र क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने साहसी निर्णय लिएका थिए । प्रशिक्षकको निर्णय सही सावित भयो । युनाइटेडले जारी सिजन पहिलो जितको खोजीमा रहेको लिभरपुललाई हराउँदै समर्थकलाई खुसी बनाउन सफल भयो । खेलअघि युनाइटेडका समर्थकले क्लबका मालिक ग्लेजर परिवारविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

युनाइटेडले १६औं मिनेटमा जाडोन सान्चोको दर्शनीय गोलबाट अग्रता लिएको थियो । ५३औं मिनेटमा मार्कुस राशफोर्डले बैकल्पिक खेलाडी एन्थोनी मार्सियालको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । खेल सकिन ९ मिनेट बाँकी हुदाँ मोहम्मद सालाहले हेडमार्फत गरेको गोलबाट लिभरपुलले पुनरागमनको प्रयास गरे पनि सफल भएन ।

‘‘आजको प्रदर्शनबाट खुसी छु । अब प्रत्येक खेलमा यस्तै प्रदर्शन गर्नु आवश्यक छ,’’ युनाइटेडका प्रशिक्षक टेन ह्यागले भने, ‘‘यो जुझारू प्रदर्शन लिभरपुलविरुद्ध मात्र होइन । प्रत्येक खेलमा गर्नु आवश्यक छ । प्रिमियर लिगका प्रत्येक खेल कठिन छन् ।’’

पहिलो खेलमा घरेलु मैदानमै ब्राइटनसँग २–१ ले हार्नुका साथै पछिल्लो खेलमा ब्रेन्टफोर्डविरुद्ध ४–० को लज्जास्पद हार बेहोरेपछि युनाइटेडको चर्को आलोचना भएको थियो । लिगको पुछारमा रहेको युनाइटेडका हजारौं समर्थकहरूले सोमबार राति पनि ग्लेजर परिवारविरूद्ध विरोध प्रदर्शन गरे । खेल अवधिभर पनि सकर्थकले विरोधको नारा लगाइरहे । मैदानमा खेलाडीले पनि त्यस्तै जुझारू प्रदर्शन गर्दै लिभरपुललाई दबाबमा राखिरह्यो ।

खेल सुरु हुनुअघि युनाइटेडले नयाँ अनुबन्ध गरेको ब्राजिलका मिडफिल्डर कासेमिरोलाई सार्वजनिक गरेको थियो । युनाइटेडले कासेमिरोलाई ६ करोड पाउण्डमा रियाल मड्रिडबाट अनुबन्ध गरेको हो । कासेमिरोले ओल्ड ट्राफोर्डभित्रको त्यो माहोललाई नजिकबाट अनुभव गर्ने अवसर पाए ।

लिभरपुलले गत सिजन ओल्ड ट्राफोर्डमा ५–० र एनफिल्डमा ४–० को विजय हासिल गरेको थियो । युनाइटेडले ती दुवै लज्जास्पद प्रदर्शनको तुलनामा गएराति धेरै ऊर्जाका साथ आक्रामक प्रदर्शन गरेको थियो ।

यो जित प्रशिक्षक टेन ह्यागका लागि एउटा ऐतिहासिक रात रह्यो । उनले प्रिमियर लिगमा पहिलो जित हासिल गर्न सफल भए । सुरूमा विरोध प्रदर्शनमा उत्रिएका युनाइटेड समर्थक खेलपछि खुसी मनाउँदै घर फर्किएका थिए ।

गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको लिभरपुल भने अझै जितबिहीन छ । लिभरपुलका फरवार्ड डार्विन नुनेज प्रतिबन्धमा छन् । क्रिष्टल प्यालेसविरुद्धको खेलमा उनले रातो कार्डको सामना गरेका थिए । खेलाडीको चोटका पीडित बनेको लिभरपुलले क्रिष्टल प्यालेससँग १–१ र पहिलो खेलमा फुलहमसँग २–२ को बराबरीमा रोकिएको थियो ।

सम्बन्धित् समाचार