गृहपृष्ठ Featured बुटवलमा कक्षाकोठामा हाँसेको भन्दै शिक्षकले कुटे विद्यार्थी

बुटवलमा कक्षाकोठामा हाँसेको भन्दै शिक्षकले कुटे विद्यार्थी

बुटवल ।

रुपन्देहीको बुटवल–८ दीपनगरस्थित दीप बोर्डिङ हाई स्कुलका एक शिक्षकले कक्षा १० मा अध्ययनरत छात्रमाथि निर्घात कुटपिट गरेका छन् । दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाई‌ले कक्षा १० का विद्यार्थी जेनित रायमाझीमाथि निर्घात कुटपिट गरेका हुन् ।

गुरागाईंको कुटपिटबाट तिलोत्तमा नगरपालिका–५ का जेनित घाइते भएको उनका अभिभावकले बताएका छन् ।

कक्षाकोठामा हाँसेको भन्दै शिक्षक गुरागाईंले थप्पड हान्दा चोट लागेको जेनितका आमा चन्दा रायमाझीले बताइन् । यसअघि पनि शिक्षकले आफ्नो छोरामाथि पटक-पटक कुटपिट गरेको चन्दाको आरोप छ । ‘बाबु विद्यालयबाट आएर रोइरहेका थिए’, चन्दाले भनिन्, ‘के भयो भनेर सोध्दा शिक्षक कम्प्युटर शिक्षक एकराज गुरागाईंले आफूमाथि कुटपिट गरेको सुनाए ।’ कम्प्युटर शिक्षक गुरागाईंले आफ्ना छोरामाथि कुटपिट गरेकोबारे विद्यालयमा बुझ्दा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफूमाथि नै दुर्व्यवहार गरेको आरोप चन्दाको छ ।

विद्यार्थीलाई शारीरिक यातना दिन नपाइने भए पनि विद्यालयका शिक्षकले पटक-पटक विद्यार्थीहरुलाई कुटपिट गरेकाले उक्त विद्यालयमा विद्यार्थीका असुरक्षित भएको उनको भनाइ छ ।

शिक्षकको कुटाइबाट घाइते जेनितलाई लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजमा उपचार गरिएको छ । उपचारका क्रममा उनको बंगारामा असर पुगेको चिकित्सकले बताएको अभिभावक चन्दाले जानकारी दिइन् । विद्यालयका प्राचार्य न्यौपानेले विद्यार्थीलाई कुटपिट भएको भन्ने जानकारी आएको बताए ।

जेनितका अभिभावकमाथि दुर्व्यवहार नगरेको प्रतिक्रिया दिँदै न्यौपानेले आफूले ३५ वर्षको शिक्षण यात्रामा कसै माथि पनि नराम्रो व्यवहार नगरेको सुनाए । ‘कक्षामा हल्ला गरेको भनेर शिक्षकले दुई झापड हानेको रहेछ, बच्चाको गाला सुनिएको रहेछ,’ न्यौपानेले भने, ‘बच्चाका अभिभावकलाई थर्काएको भन्ने कुरा गलत हो ।’

सम्बन्धित् समाचार