नेपालगन्ज ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ब्लड बैंकका लागि नेपालगन्जमा अत्याधुनिक भवन बनाउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ३ करोड सहयोगमा भेरी अस्पताल परिसरमा रहेको रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेकै स्थानमा लिफ्टसहितको ५ तले भवन बनाउन लागेको हो।
रेडक्रस सोसाइटीको ६०औं स्थापना दिवसका अवसरमा आइतबार ब्लड बैंक परिसरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले मन्त्रालयले बजेट विनियोजन गरेको खुलासा गरेका हुन्।
मन्त्रालयको मातहतमा रहेको निर्माण व्यवसाय विकास परिषद्का अध्यक्षसमेत रहेका मन्त्री राईले गत १३ भदौको परिषद् बैठकबाट निर्णय गराएर ब्लड बैंकको भवन निर्माणमा सहयोग गरेका हुन्। कार्यक्रममा मन्त्री राईले भनेका थिए, ‘यो रकम मन्त्रालयको काम गर्ने हरेक ठेकेदारले प्रतिठेक्काबापत ०.०१ प्रतिशत रकम सामाजिक उत्तरदायित्वका लागि खर्च गर्न छुट्ट्याएका हुन्छन्। ब्लड बैंकको भवन जीर्ण रहेको थाहा पाएपछि हामीले सहयोग गरेका हौं।’
तीन करोड रुपैयाँबाट ५ लाख रुपैयाँ डीपीआर निर्माणमा खर्च हुने र बाँकी २ करोड ९५ लाख रुपैयाँमा भवन निर्माण हुने मन्त्रालयका उप–सचिव पशुपतिबाबु पुरीले गत १४ भदौमा सडक डिभिजन कार्यालय नेपालगन्जलाई पत्राचार गरेको पत्रमा उल्लेख छ। भेरी अस्पतालको एक कट्ठा जग्गामा निर्माण गरिएको रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रको भवन साँघुरो भएको छ।
भेरीकै जग्गामा ब्लड बैंकको ठीक पूर्वतिर मूल सडकसँग जोडेर बनाएका सटर भेरी अस्पतालले भत्काउने भएपछि रक्तसञ्चारका लागि कोठाको अभाव हुँदै थियो। ब्लड बैंकको नयाँ भवनले त्यो अभाव पूरा गर्नेछ। यो ब्लड बैंकले जिल्लामा खुलेका सबै अस्पतालका लागि रक्तसञ्चार सेवा दिँदै आएको छ।








