गृहपृष्ठ Featured आयोगले तोकेको खर्चको सीमा हेरफेर हुँदैन : प्रमुख निर्वाचन आयुक्त

आयोगले तोकेको खर्चको सीमा हेरफेर हुँदैन : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पारेका छन्।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा विभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पारे।

नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरू नै खर्चको सीमामा असन्तुष्ट देखिएको उनले बताए। थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरूको खर्च पनि सबै दलले नै व्यहोर्ने व्यवस्था भए झन उचित हुने जिकिर गरे।

निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने गरी खाका तयार गरिरहेको उनले बताए।

त्यस्तै उनले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहँदा वा नरहँदा फरक हुने देखिएकाले समस्या हुने गरेको धारणा राखे।

उनले मन्त्री मात्रै नभई कोही सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पनि निर्वाचन प्रचार गर्न नपाउनेमा आयोग प्रष्ट रहेको बताए। निर्वाचन आचारसंहिता उलंघन गरेको प्रमाण फेला परे आयोगले आवश्यक कारवाही गर्ने उनले बताए।

त्यस्तै उनले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरी निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिए।

बैठकमा समिति सदस्यहरूले निर्वाचन खर्च, प्रचारप्रसार लगाएतका विषयमा आयोगले गरेको व्यवस्थाका बारेमा ज्ञिसासा राखेका थिए।

सम्बन्धित् समाचार