गृहपृष्ठ Featured दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला इङ्ल्यान्डलाई

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला इङ्ल्यान्डलाई

काठमाडौं ।

ओली रोबिन्सन र स्टुवार्ट ब्रोडले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि इङ्ल्यान्डले सोमबार दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा ९ विकेटको विजय हासिल गरेको छ । जितसँगै इङ्ल्यान्डले तीन खेलको शृङ्खला २–१ ले जितेको छ ।

लर्डस्मा सम्पन्न पहिलो खेलमा एक इनिङ्स र १२ रनको लज्जास्पद हार बेहोरेको इङ्ल्यान्डले बाँकी दुई खेलमा सानदार पुनरागमन गरेको हो । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्डमा सम्पन्न दोस्रो खेलमा इङ्ल्यान्ड एक इनिङ्स र ८५ रनले विजयी भएको थियो ।

लन्डनस्थित केनिङ्टन ओभलमा इङ्ल्यान्डलाई जित्नका लागि ३३ रनको आवश्यक थियो । इङ्ल्यान्डका एलेक्स लीस ३२, र ज्याक क्राउले ५७ रन बनाएर क्रिजमा थिए । अन्तिम दिन लीस ३९ रन बनाएर पवेलियन फर्किए । क्राउले ६९ रनमा अविजित रहे । ओली पोपले अविजित ११ रन बनाए ।

टस हारेर पहिलो ब्याटिङ गरेको पाहुना टोली दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ११८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि पहिलो इनिङ्समा मार्को जनसेनले ३०, खया जान्डोले २३, केशव महाराजले १८, कीगन पिटरसनले १२ र रायन रिकेल्टनले ११ रन बनाएका थिए ।

इङ्ल्यान्डका रोबिन्सनले ५ र स्टुवार्ट ब्रोडले ४ विकेट लिएका थिए । जेम्स एन्टरसनको नाममा एक विकेट रह्यो ।

पहिलो इनिङ्समा इङ्ल्यान्डले १५८ रन बनाएको थियो । इङ्ल्यान्डका ओली पोपले ६७,  जो रुटले २३, बेन स्टोक्सले १४, लीसले १३ र ह्यारी ब्रुकले १२ रन बनाए । दक्षिण अफ्रिकाका जनसेनले ५ विकेट लिए भने कागिसो राबडाले ४ विकेट लिए । एनरिच नोर्टजेको नाममा एक विकेट रह्यो ।

दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले १६९ रन बनाउँदा सबै विकेट गुमाएपछि इङ्ल्यान्डले जितका लागि १३० रनको लक्ष्य पाएको हो । दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाका लागि डीन एल्गरले ३६, सारेल इर्वीले २६, पिटरसननले २३, जान्डोले १६, वान मुल्दरले १४ र केल भेरेनेले १२ रन बनाउँदा महाराजले १८ रन बनाए ।

दोस्रो इनिङ्समा स्टोक्स र ब्रोडले समान तीन विकेट लिए । एन्डरसनले रोबिन्सनले दुई दुई विकेट लिए ।

सम्बन्धित् समाचार