गृहपृष्ठ Featured सर्वोच्चको न्यायाधीशमा सिफारिस तीन जनाविरूद्ध उजुरी आह्वान

सर्वोच्चको न्यायाधीशमा सिफारिस तीन जनाविरूद्ध उजुरी आह्वान

काठमाडौं, भदौ २९ ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनाविरूद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ।

सर्वोच्चको न्यायाधीशमा न्यायपरिषदबाट सिफारिस भएका उच्च अदालतका दुई जना मुख्य न्यायाधीश र वरिष्ठ अधिवक्ता गरी तीन जनाविरूद्ध उजुरी आह्वान गरेको हो।

न्यायाधीशमा उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश विनोद शर्मा र नेपाल ल क्याम्पसका प्रमुख डिएन (दिनानाथ) पराजुली न्यायाधीशमा सिफारिस भएका हुन्।

‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्यायपरिषदबाट सिफारिस भई संसदीय सुनुवाइका लागि मिति भदौ २२ गते समितिमा पत्र प्राप्त भएकोले उक्त पदमा उहाँहरूलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित मिति २०७९ असोज ७ गते कार्यालय समयभित्र यस समिति समक्ष निम्न माध्यम मार्फत वा सो समितिमा आई सूचना वा उजुरी दिन सकिने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ’, समितिको सूचनामा भनिएको छ, ‘यस्तो सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत जानकारी गराइन्छ।’

सिफारिस भएका सबैको संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।

सम्बन्धित् समाचार