काठमाडौँ ।
नेपालका सहरी क्षेत्रमा उत्पादन हुने फोहारमध्ये ३० प्रतिशत नदी किनारमा विसर्जन हुने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको फोहोर मैलासम्बन्धीको लेखा प्रतिवेदनअनुसार देशभरबाट उत्पादन हुने १० लाख टन फोहोरमध्ये ३ लाख १५ हजार ६९ टन फोहोर नदी किनार तथा बगर क्षेत्रमा विसर्जन हुने गरेको पाइएको हो ।
सहरी क्षेत्रहरुमा मात्रै नेपालमा वार्षिक १० लाख टन फोहोर उत्पादन हुने प्रतिवेदनमा जनाइएको छ । उत्पादित फोहोरमध्ये ३ लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, २ लाख ४५ हजार ८७४ टन व्यापारिक क्षेत्रबाट उत्पादन हुने गरेको छ । शैक्षिक संस्थाबाट उत्पादन हुने फोहोरको मात्रा १ लाख ३ हजार २ सय ४४ टन रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, स्वास्थ्य क्षेत्रबाट उत्पादन हुने फोहोरको मात्रा १ लाख १ हजार ५ सय ७ टन छ । औद्योगिक क्षेत्रबाट ९४ हजार ३ सय ९२ टन र अन्य क्षेत्रबाट ६६ हजार २ सय २० टन फोहोर निष्कासन हुने गरेको विभागले निकालेको प्रतिवेदनमा उल्लेख छ ।
कूल उत्पादित फोहोरमध्ये ३ लाख ८९ हजार ९ सय ८३ टन ल्यान्डफिल साइटमा जम्मा हुने गर्छ । २२ हजार ७५ टन फोहोर दहन हुने गरेको छ ।
प्रतिवेदनअनुसार पुन:चक्रीय रूपमा उपयोगमा जाने फोहोरको मात्रा ८ हजार ६ सय ९० टन रहेको छ । प्रतिवेदनमा पुन:प्रयोग हुने फोहोरको मात्रा धेरै कम रहेको प्रतिवेदनमा उल्लेख छ ।









