गृहपृष्ठ Featured पाकिस्तानमा १७ वर्षपछि इङ्ल्यान्डको जित

पाकिस्तानमा १७ वर्षपछि इङ्ल्यान्डको जित

१७ वर्षपछि पाकिस्तान फर्किएको इङ्ल्यान्डका एलेक्स हल्सले ५३ रन तथा डेब्यु गरेका लुक उडले तीन विकेट लिएपछि पहुना टोलीले बुधबार राति पाकिस्तानलाई ६ विकेटले हराएको छ ।

१५९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा हल्सले ४० बलमा ७ चौकासहित ५३ रनले बनाए । हल्सले २०१९ पछि पहिलोपटक इङ्ल्यान्डका लागि खेलेका हुन् । मैदानबाहिरको विवादका कारण हल्स विश्वकप टिममा पनि परेका थिएनन् ।

कराँचीमा ह्यारी ब्रुकले २५ बलमा सात चौकासहित अविजित ४२ रन जोडे । बेन डुकेटले २१ रन बनाए भने डेविड मालनले २० रन जोडे । पाकिस्तानका उस्मान क्वादिरले दुई विकेट लिए भने शहनावाज दहानी र ह्यारिस रउफले एक÷एक विकेट लिए ।

त्यसअघि कराँची राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङका लागि नम्त्यिाइएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ४६ बलमा ४ चौका र २ छक्कासहित ६८ रन बनाए । कप्तान बाबर आजमले ३१ रन बनाए । इफतिखर अहमदले २८ र हैदर अलीले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इङ्ल्यान्डका उडले चार ओभरमा तीन विकेट लिए भने एडिल रशिदले दुई विकेट लिए । साम कुरान र मोइन अलीले एक÷एक विकेट लिए ।

इङ्ल्यान्ड ६ हजार ११८ दिनपछि पाकिस्तान फर्किएको हो । २००५ डिसेम्बरमा टेष्ट र एकदिवसीय शृंखला खेलेपछि इङ्ल्यान्डले पाकिस्तान भ्रमण गरेको थिएन । २००९ मा श्रीलंकन टिमको बसमा गोली प्रहार भएपछि कुनै पनि टिमले ६ वर्षसम्म पाकिस्तानको भ्रमण गरेका थिएनन् । २०१५ पछि विदेशी टिमहरू विस्तारै पाकिस्तान फर्किन थालेका थिए ।

इङ्ल्यान्डले गत वर्ष पनि पाकिस्तानको भ्रमण गर्ने भनेको थियो । तर, अन्तिम अवस्थामा सुरक्षाको कारण देखाउँदै भ्रमण स्थगित गरेको थियो ।

इङ्ल्यान्डले अब सात खेलको शृंखलामा दोस्रो खेल बिहीबार खेल्नेछ ।

सम्बन्धित् समाचार