गृहपृष्ठ Featured यशोधराका प्रमुख तिवारीको मनपरि : पार्टीका गतिविधि कार्याकक्षमै, सेवाग्राही मारमा

यशोधराका प्रमुख तिवारीको मनपरि : पार्टीका गतिविधि कार्याकक्षमै, सेवाग्राही मारमा

वैखरी अनलाईन, यशोधरा ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले आफ्नो कार्याकक्षमा नै पार्टीका गतिविधि गरेको पाईएको छ । अध्यक्ष तिवारी गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।

उनले कार्यालय समयमा सेवाग्राहीलाई सेवा दिनुको साटो कार्याकक्षमा नै पार्टीका गतिविधि गरेको पाईएको हो । उनले नेकपा एमालेको भातृसंगठन बुद्धिजीवि परिषद आफ्नो कार्याकक्षमा नै गठन गरेका हुन् ।

रामदेव शुक्लाको अध्यक्षतामा १७ सदस्यीय यशोधरा गाउँपालिका स्तरिय बुद्धिजीवि परिषद गठन गरिएको छ । गाउँपालिका अध्यक्ष तिवारीले सेवाग्राही आउँदा पार्टीको बैठक भएकाले पछि आउन भनेको स्रोतले जानकारी दियो ।

अध्यक्ष तिवारीले गाउँपालिका अध्यक्षमा निर्वाचित भए पश्चात गाउाँपालिकावासी तथा सेवाग्राहीको काममा भन्दा पार्टीकै कामलाई प्राथमिकता दिई कार्यालयमा नै गर्दै आएको स्रोतले बताएको छ ।

यस अघि पनि उनले यसरी नै आफ्नो कार्याकक्षमा पार्टीका विभिन्न संगठनको विस्तार कार्यक्रम गर्दै आएको स्रोतको दाबी छ । यसरी हुने गरेका बैठकमा भएको खाजा खर्च समेत गाउँपालिकाले व्यवहोर्ने गरेको समेत पाईएको छ ।

यस्ता गतिविधिले सेवाग्राही प्रत्यक्ष मारमा परेको र यसले नकारात्मक सन्देश जाने एक स्थानीय बुद्धिजीविले बताए । यता नेकपा एमाले कपिलवस्तुका एक जिल्ला नेताले पार्टीका काम कार्यालय समयमा गर्न नहुने बताए । पार्टीका सांगठनिक काम गाउँपालिका बाहेक अन्य स्थानमा गर्नुपर्ने उनले बताए ।

यस्तै यता नेकपा माओवादी केन्द्र यशोधरा गाउँपालिका अध्यक्ष अलि खानले पनि यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सामाजिक संजालमा आपत्ति जनाएका छन् ।

सम्बन्धित् समाचार