रुपन्देही ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँचको काम सम्पन्न भएको छ । औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचानका लागि गत भदौ २८ देखि जग्गा नापजाँचको काम सुरु भएको थियो ।
बुटवल उपमहानगरपालिका–१७, रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट ड्रोनको सहयतामार्फत सुरु गरिएको जग्गा नापजाँचको काम सकिएको हो ।
ड्रोन प्रयोग गरेर सुरु गरिएको जग्गा नापजाँचको काम ११औं दिनमा सम्पन्न भएको जिल्ला समन्वय समितिका प्रमुख एवं मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी दिए । सो क्षेत्रका जग्गा नापजाँच गरिएको र सोही रिपोर्टको आधारमा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याएपछि संघीय सरकारलाई सिफारिस गर्ने उनले बताए ।
सो क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म र कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन गर्नका लागि ड्रोनबाट नापजाँच गरिएको हो । जग्गा नापजाँचमा खटिएका प्राविधिक सागर गिरीका अनुसार जग्गा नापजाँचका क्रममा ३५ हजारवटा तस्बिरहरू लिइएको र सोही तस्बिरका आधारमा मोतीपुर औद्योगिक क्षेत्रको जग्गा यकिन गरिने छ । उनले तथ्यांक प्रशोधनका लागि करिब १ महिना लाग्ने र पुन: स्थलगत अध्ययनपछि मात्रै अन्तिम प्रतिवेदन तयार गरिने जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार प्राविधिक टोलीले नापजाँचपछि तयार पार्ने तथ्यांकका आधारमा मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने छ । अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिस गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने उनले बताए ।









