गृहपृष्ठ Featured कपिलवस्तुका उद्योग बाणिज्य संघले भन्सारमै पुगेर उपभोक्तालाई गराए सचेत

कपिलवस्तुका उद्योग बाणिज्य संघले भन्सारमै पुगेर उपभोक्तालाई गराए सचेत

सागर वि.क., वैखरी अनलाईन ।

भारतीय बजारमा किनमेल गर्न जाने नेपालीहरुको कृष्णनगर नाकामा लर्को लागेको छ । चाडपर्व नजिकिएसंगै नेपाल भारत सिमा क्षेत्रमा यतिबेला नेपालीहरुको चहलपहल छ ।

दैनिक उपभोग्य सामग्री खरिदका लागी नेपालीहरुको भारतीय बजारमा आकर्षण बढ्दा नेपाली बजार क्षेत्रहरु भने सुनसान जस्तै छन् । दसैंको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् ।

सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् । सीमापारिका बढ्नी, खुनुवा, अलिगढवा लगायतका भारतीय बजारमा यतिखेर नेपालीको बाक्लो चलहपहल देखिन्छ ।

कृष्णनगर र मर्यादापुर भन्सार कार्यालयका अनुसार एक सातामा जिल्लाका विभिन्न सीमानाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ ।

दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सारसमेत नतिर्दा राज्यलाई समेत लाखौँ राजश्व घाटा लाग्ने गरेको छ । यसैबीच कपिलवस्तुका तीन उद्योग बाणिज्य संघहरुले उपभोक्ता सचेतना कार्यक्रम गरेका छन् । शुक्रबार कृष्णनगर भन्सार कार्यालय अगाडि कपिलवस्तु उद्योग बाणिज्य संघ, बुद्धभूमि उद्योग बाणिज्य संघ र चन्द्रौटा उद्योग बाणिज्य संघले संयुक्त रुपमा उक्त कार्यक्रम गरेका हुन् ।


कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले नेपालमा उत्पादित दैनिक उपयोग्य सामानहरु भारतीय बजारमा भन्दा गुणस्तरीय हुने भएकाले यहाँको सामान उपभोग गर्नुपर्ने बताए । स्वदेशी उत्पादनलाई प्राथमिकता राख्न उनले उपभोक्तालाई आग्रह समेत गरे ।

भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको उनले आरोप लगाए । केही वस्तु सस्तोमा दिएर अन्य वस्तुहरुमा चर्को मूल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उनले बताए । ‘नेपालीको मानसिकता सीमापारि सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउँदै व्यापारीले ठग्ने गर्दछन्’, उनले भने । उनले यस उपभोक्ता सचेतना कार्यक्रम फलदायी हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका पदाधिकारीहरुसहित बुद्धभूमि उद्योग बाणिज्य संघ र चन्द्रौटा उद्योग बाणिज्य संघका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार