गृहपृष्ठ Featured भारी वर्षाका कारण तल्लो सुर्खेत डुबानमा

भारी वर्षाका कारण तल्लो सुर्खेत डुबानमा

भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ। बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेका हुन्।

डुबानले केही घर जलमग्न हुनुका साथै पाक्न लागेको धानबाली नष्ट गरेको छ। डुबान क्षेत्रमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख उद्धार टोलीसँगै खटिएका छन्।

प्रमुख जिल्ला अधिकारी रिजालले बाढी र डुबानको पूर्वसूचनाका कारण मानवीय क्षति हुन नपाएको बताए।

जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन चेतावनी दिएसँगै स्थानीय प्रशासन र जनप्रतिनिधि बिहानैदेखि बाढी र डुबानबाट क्षति हुन नदिन उद्धार सामग्रीसहित उक्त क्षेत्रमा खटिएका थिए।

वीरेन्द्रनगरको डुबान क्षेत्रमा नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालसहित वडाध्यक्षले उद्धारको संयोजन गरेका थिए।

वीरेन्द्रनगर– ९ का वडाध्यक्ष ऋषि गिरीले डुबानले तल्लो सुर्खेतका पर्सेनी, लौबस्ता, तिलपुर, इटौरा, घोग्रेनीलगायत बस्तीका केही घर जलमग्न हुनुका साथै धानबालीमा क्षति पुर्‍याएको जानकारी दिए।

उनका अनुसार पर्सेनीमा दुईवटा घर डुबानमा परेपछि सुरक्षाकर्मीको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो।

सम्बन्धित् समाचार