काठमाडौं ।
ह्यारी केनले आफ्नो ४०० औँ खेलमा गोल गरेको दिन टोटनहमले शनिबार राति इङ्लिस प्रिमियर लिगमा एभर्टनलाई २–० ले हराएको छ । जितसँगै टोटनहमले शीर्ष क्लब आर्सनलसँगको दूरी कम गरेको छ ।
केनले ५९ औँ मिनेटमा गरेको गोलबाट टोटनहमले अग्रता लिएको थियो । केनले पेनाल्टीमा गोल गरेका हुन् । एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले पेनाल्टी क्षेत्रमा केनलाई फाउल गरेपछि टोटनहमले पेनाल्टी अवसर पाएको थियो । यससँगै केनले टोटनहमबाट आफ्नो ४०० औँ खेल सुखद बनाएका छन् ।
खेल सकिन चार मिनेट बाँकी हुँदा पिइरे–इमिल होजबर्गले अर्को गोल थपेपछि टोटनहमले महत्वपूर्ण तीन अंक पक्का गरेको हो ।
जितसँगै तेस्रो स्थानमा रहेको टोटनहमले १० खेलबाट २३ अंक जोडेको छ । जुन शीर्ष स्थानको आर्सनलभन्दा एक अंकले पछाडि हो भने दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी हो । तर, टोटनहमले एक खेल बढी खेलेको छ ।
आर्सनलले आइतबार लिड्स युनाइटेडविरुद्ध खेल्दै छ । यता सिटीले पनि लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
शनिबार राति अन्य खेलमा उल्भरह्याम्पटनले पुछारको क्लब नटिङ्घम फरेष्टलाई १–० ले हराउँदै रेलिगेशन क्षेत्रबाट माथि उल्किएको छ । रेलिगेशन क्षेत्रमा रहेको लेस्टर सिटीले १२ औँ स्थानको क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेल्यो ।
आठौँ स्थानको ब्रेन्टफोर्डले सातौं स्थानको ब्राइटनलाई २–० ले हरायो । यस्तै, दशौँ स्थानको फुलहमले नवौँ स्थानको बर्नमाउथसँग २–२ को बराबरी खेल्यो ।








