वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शाखा अधिकृत प्रमुख राजन कुमार पोख्रेललाई विदाई गरेको छ । नगरपालिकाले आज आईतबार एक कार्यक्रमको आयोजना गरि पोख्रेललाई विदाई गरेको हो । पोख्रेल योजना अनुगमन अधिकृत समेत थिए । नगरपालिका सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुले पोख्रेललाई मायाको चिनो तथा अविर लगाएर शुभकामना दिदै विदाई गरेका हुन् ।

२०५९ सालबाट सरकारी सेवामा लागेका उनी जिल्ला विकास समिति हुदै स्थानीय तह संचालनमा आएपछि सयोजन हुदाँ बुद्धभूमि नगरपालिकामा शाखा अधिकृतका रुपमा आएका थिए । मिजासिलो स्वभाव तथा लगनशीलताका कारण उनले कर्मचारीहरुमा छुट्टै पहिचान स्थापित गर्न सफल भएका थिए ।

बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले नगरको विकासका लागी पोख्रेलले अहोरात्र खटिएर काम गरेको स्मरण गर्दै खुशी व्यक्त गरे । उनले आगामी दिनहरुमा पनि सामाजिक कार्यमा लागेर नगरको विकासमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगको अपेक्षा गर्दै शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले सरकारी सेवाबाट विदा लिए पनि सामाजिक सेवामा आफु सधै तत्पर रहने बताए । उनले काम गर्दै गर्दा हरेक तवरबाट साथ सहयोग मिलेको स्मरण गर्दै खुशी व्यक्त समेत गरे ।








