कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाएका प्रेमबहादुर राना १२ वर्षपछि पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका- १९ का रानालाई प्रहरीले करिब १२ वर्षपछि भक्तपुरबाट पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाए पनि त्यसयता फरार रहेका रानालाई शनिबार महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए ।
उनका अनुसार रानाले दाजु नाता लाग्ने छिमेकी ३२ वर्षीय सूर्यबहादुर रानाको हत्या गरेका थिए । उनलाई दाङ‚ देउखुरीस्थित जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो ।
पक्राउ परेका रानालाई आइतबारै कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको डीएसपी पाण्डेले बताए ।








