वैखरी अनलाईन, बाणगंगा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार ध्रुब रायमाझिले आगामी निर्वाचन तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको चक्रव्युहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताएका छन् ।
मंसिर ४ गते हुने निर्वाचन केवल आवद्यिक निर्वाचन मात्रै नभएको भन्दै यस्तो बताएका हुन् । शनिबार लवनीमा कपिलवस्तु क्षेत्र नम्बर (ख) को चुनावको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मंसिर ४ को निर्वाचन केवल आवद्यिक निर्वाचन मात्र होईन् । यो निर्वाचन तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको चक्रव्युहबाट मुलुकलाई निकाल्ने अवसर हो ।’

निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुने गरी मतदान गर्न उनले आह्वान समेत गरे । उनले राप्रपा नेपाली कांग्रेस स्थापक नेता बिपि कोईरालाको बिचार र राजा महेन्द्रको विकासको मोडल लिएर हिडेको बताए ।

साथै सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३४ जना पार्टिको सदस्यता लिई राप्रपामा प्रबेश गरेका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ (ख) का उम्मेदवार रोशन शाह, प्रदेश (ख) का निर्वाचन परिचालन समितिका देवेन्द्र किरण श्रीवास्तव, राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, राजेन्द्र विक्रम शाह, सुर्य कुमार गुरुङ, बिजय कुमार पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।








