गृहपृष्ठ Featured कपिलवस्तुका यी दुई कँडेल दिदीबहिनी : जो गर्छन् व्यावसायिक फूलखेती

कपिलवस्तुका यी दुई कँडेल दिदीबहिनी : जो गर्छन् व्यावसायिक फूलखेती

मनोज पौडेल, कपिलवस्तु ।

विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । चितवनको रामपुरबाट बीएस्सी एजी गरेपछि कपिलवस्तु–१० की २४ वर्षीया सुष्मा कँडेललाई गाउँघरमै केही नयाँ काम गरूँजस्तो लाग्यो ।

दिदी २७ वर्षीया रचना पनि खाद्य प्रविधिमा काठमाडौंबाट स्नातक गरेर आइन् । दिदीबहिनीले परम्परागत तरिकाको निर्वाहमुखी खेतीभन्दा फरक केही गर्ने सल्लाह गरे । व्यावसायिक कृषिमा काम गर्ने योजना बनाए । खेत आफ्नै थियो, छोरीहरूको योजनाले परिवारको साथ–समर्थन पायो ।

गत असारमा फार्म दर्ता गरे । सुरुमा २०७९ को तिहारलाई लक्ष्य गरेर फूल लगाउने निर्णय भयो । पाँच कट्ठा खेतमा कर्मा ५५५ गोल्डेन मेरीगोल्ड जातका ३ हजार बिरुवा सयपत्री फूल लगाए । उनीहरूले साउन पहिलो साता रोपेको फूल अहिले तयार छ । खेतमा फूल ढकमक्क छन् ।

उनीहरू एक सातादेखि हरेक बिहान ३ घण्टा फूल टिप्दै माला उनेर बेच्न व्यस्त छन् । ‘अहिलेसम्म २ सय किलो फूल बेचिसक्यौं,’ फार्म सञ्चालक सुष्माले भनिन्, ‘८० हजार आम्दानी भयो । दुई सयवटा माला बेच्यौं । त्यसबाट पनि ४० हजार आयो ।’

उनीहरू एउटा माला डेढ सयदेखि दुई सय रुपैयाँमा बेचिरहेका छन् । तिहारका लागि दुई सय किलो फूल र दुई सय मालाको अर्डर पाएको सुष्माले सुनाइन् । बिक्री नभएको फूल र माला खेत नजिकै जितपुरमा भर्खरै सञ्चालनमा आएको कोल्ड स्टोरमा लगेर राख्ने उनीहरूको योजना छ ।

उनीहरूले फूल तयार हुन थालेपछि बेच्न सामाजिक सञ्जालमार्फत प्रचार गरे । ‘कतिपयले फेसबुकका माध्यमबाट सम्पर्क गरेर घरबाटै फूल र माला किनेर लैजाने गरेका छन्,’ रचनाले भनिन्, ‘तिहारका लागि दुई जना कामदार राखेर फूल टिप्ने र माला बनाउने गरेका छौं ।’

कपिलवस्तु–१० बिकुली पिपरामा कँडेल दिदीबहिनीले आफ्नै जग्गामा फूलखेती गरेका हुन् । सुरुवातमा करिब १ लाख रुपैयाँ खर्च लागेको उनीहरूले बताए । ‘तिहारमा फूल बेचेर २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेका छौं,’ रचनाले भनिन्, ‘त्यसपछि पूजाआजा, विवाह र व्रतबन्धलाई बजार बनाउँछौं ।’ आगामी मंसिर ४ मा हुने आमचुनाव पछिको विजय उत्सवलाई ध्यानमा राखेर अहिलेबाट नै तयारी थालेको उनीहरूले सुनाए । अहिलेको खेतीले पुस/माघसम्मै फूल फुलाउन सकिन्छ । पुससम्म साढे ४ लाखदेखि ५ लाख रुपैयाँसम्म सजिलै आम्दानी गर्न सकिने हिसाब सुष्माको छ । अर्को वर्ष मखमली फूल पनि लगाएर प्रयोग गर्ने योजना छ ।

दुई ‘ग्य्राजुएट’ को व्यावसायिक कृषि योजनालाई परिवारले सघाएको छ । बजार व्यवस्थापन रचनाका श्रीमान् ३१ वर्षीय चार्टर्ड एकाउन्टेन्ट आशिष उपाध्यायले हेर्छन् । ‘उनीहरू योजना बनाउँछन्, हामी पनि छलफलमा सहभागी छौं, सकेको सघाएका छौं,’ उनले भने । शैक्षिक ज्ञान र सीप स्वदेशमै प्रयोग गरेर केही गरौं भन्ने लागेर फूलखेती सुरु गरेको सुष्माको भनाइ छ । रचना भने गाउँघरमै गर्न सकिने उद्यमका रूपमा यो क्षेत्र छनोट गरेको बताउँछिन् ।

सम्बन्धित् समाचार