पाल्पा ।
अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दसैँ सुरु भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यसपटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् ।
पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउँनै नसकिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछिन् । रामपुर नगरपालिका–५ राङभाङमा एक दशकअघिदेखि उद्योग स्थापना गरेर यही व्यवसाय गर्दै आएकी पूर्वी पाल्पाका पहिलो व्यवसायी उनी माग धेरै आउँदा पनि कतिपय बजारमा पठाउन नपाइएको बताउँछिन् । “एक महिना अघिदेखि तिहारलाई प्राथमिकता दिएर झिनियाँ बनाइरहेका छौँ” व्यवसायी श्रेष्ठ भन्छिन्,“यस पटक अन्यत्र धेरै उत्पादन नभएको र पहिलाको तुलनामा झिनियाँ खोज्ने धेरै ग्राहक बढेकाले पुर्याउन कठिन परिरहेको हो ।”
लामो समय झिनियाँ व्यावसायमा बिताएकी उनलाई यसको उत्पादनसम्बन्धी राम्रो ज्ञान छ । पुरानो व्यवसाय भएकाले धेरै टाढाबाट माग आउने गर्दछ । घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाइ गर्न सकिने यो व्यवसायमा मिहिनेत गरियो भने राम्रो सफलता हातपर्ने व्यवसायी श्रेष्ठको अनुभव छ । पहिला एक्लै उत्पादन गर्दै आएकी उनले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर थप उत्पादन गर्दै आएकी हुन् । यस व्यवसायमा आवद्ध रहेदेखि नै परनिर्भर हुनु नपरेको र आफूले पनि सकुञ्जेलसम्म यही व्यवसायलाई निरन्तरता दिने व्यवसायी श्रेष्ठको सोच छ ।
यहाँ तिहारको समय मात्र नभइ अन्य समयमा पनि निरन्तर झिनियाँ उत्पादन भइरहेको छ । उत्पादित झिनियाँ हाल प्रतिदर्जन रु १०० मा फुटकर र होलसेल रु ९० मा धमाधम बिक्री भइरहेको छ । अहिले तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायत विभिन्न बजारमा झिनियाँ खपत भइरहेको अर्का व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, “उत्पादन गर्न सकेमात्रै पनि भयो, बजारको चिन्ता छैन, झिनियाँ रोटी तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेको छ, व्यावसायिकरुपले उत्पादन गर्दा र प्रयोगकर्ता बढ्दै जाँदा हामीलाई काममा भ्याइनभ्याइ छ ।” व्यवसायी रुद्रनारायणका अनुसार यस पटकको दसैँ र तिहारमा गरेर झिनियाँबाट करिब रु छ लाख बराबरको व्यापार हुने अनुमान छ । उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने उनको अनुभव छ ।
पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घर घरमा तिहारमा हातले घुमाउने सानो सोचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने काम गरिँदैन । त्यसकारण पनि बजारका पसल र उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् ।








