सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर–२ मा राष्ट्रिय जनमुक्ति पार्टीका उमेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ । शनिबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।
यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङले उमेदवारी दिएका थिए । तर, ‘चेक बाउन्स’सम्बन्धी मुद्दाका कारण उनको उमेदवारी खारेज भयो । त्यसपछि यो क्षेत्रमा गठबन्धन उमेदवारविहीन भएको थियो ।
पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका गुरुङले रुपन्देही–२ मा थापालाई गठबन्धनले एकमतका साथ साझा उमेदवार स्वीकार गरेको बताए ।
नेता गुरुङले आफ्नो उमेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट खारेज गरिएको आरोप लगाए । आफ्नो उमेदवारी खारेज हुनु नेकपा (एमाले)को पराजित मानसिकताको पराकाष्ठा भएको उनको भनाइ छ ।








