दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकप सुपर–१२ ग्रुप–१ मा आइतबार भारतलाई पाँच विकेटले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लेको छ । जितका लागि १ सय ३४ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा पाँच विकेट गुमाएर विजयी रन बनायो ।
दक्षिण अफ्रिकाले राम्रो सुरुआत गर्न सकेन । टिमले तीन रन बनाउदा बनाउँदासम्म दुवै प्रारम्भिक ब्याटरलाई गुमाएको थियो । दुवै विकेट अर्सदीप सिंहले लिए । लगतै दक्षिण अफ्रिकाले टेम्बा बभुमालाई पनि सस्तोमै गुमायो । त्यसयता एडेन मारक्रम र डेविड मिलरले दक्षिण अफ्रिकालाई जितसम्म पुग्न मदत गरे ।
मारक्रमले ४१ बलमा ५२ रन बनाए । मिलर भने ४६ बलमा ५६ रन बनाएर नटआउट रहे । उनीहरूले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतले राम्रो प्रदर्शन गर्न सकेन र २० ओभर उपयोग गरेर नौ विकेटमा १ सय ३३ रन मात्र बनायो ।
सूर्यकुमार यादवले मात्र सुदृढ गरे । उनले ४० बलमा ६८ रन बनाए । उनले छ चौका र तीन चौका प्रहार गरे । अन्य कोही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् ।
कप्तान रोहित शर्माले १५ र विराट कोहलीले १२ रन मात्र बनाउन सके । दक्षिण अफ्रिकी बलरमध्ये लंगी एनगिडीले चार तथा वायन पारनेलले तीन विकेट लिए ।








