गुल्मी ।
गुल्मीमा नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीबीच २०६४ सालदेखि प्रतिनिधिसभाको निर्वाचनमा निरन्तर प्रतिस्पर्धा हुँदै आएको छ।
२०६४ सालदेखि प्रतिस्पर्धामा रहेका भण्डारी र ज्ञवाली केन्द्रीय स्तरको प्रभावशाली नेताको रुपमा पररिचित छन्। उनीहरूबीच अहिले पनि चौथो पटक गुल्मी क्षेत्र नम्बर एकमा गठबन्धनको तर्फबाट भण्डारी र एमालेको तर्फबाट ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन्।
२०७४ सालको निर्वाचनमा एमाले माओवादीको गबन्धनबाट निर्वाचन जितेएका एमालेका उपमहासचिव ज्ञवालीले पाँच वर्षे कार्यकालमा आफूले जिल्लामा धेरै कामहरु गरेकाले निर्वाचन जित्ने दाबी गर्छन्। वर्तमान गठबन्धनका कारण निर्वाचन जित्न कुनै समस्या नहुने भन्दै जनता सचेत भएकाले आफूले निर्वाचन जित्नेमा कुनै शंका नरहेको ज्ञवालीको तर्क छ।
यता, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनबाट निर्वाचनको प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले भने पाँच वर्षे कार्यकालमा ज्ञवालीले अवसर पाएर पनि केही काम गर्न नसकेकाले गुल्मीलाई नमुना जिल्ला बनाउने गरी आफू निर्वाचनमा होमिएको बताएका छन्।
जनताले चुनेर पठाएका प्रतिनिधिले संविधानलाई पटकपटक कुल्चने कार्य गरेको बताउँदै संविधानको रक्षा गर्न, आम नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनका लागि गठबन्धनको तर्फबाट आफू निर्वाचनको प्रतिस्पर्धामा रहेको भण्डारीको भनाइ छ।
तपाईंको निर्वाचन जित्ने आधार के छ त? भन्ने थाहाखबरको प्रश्नमा भण्डारीले गठबन्धन, ज्ञवालीले जिल्लाका लागि केही काम गर्न नसकेको र अहिलेको पुस्ताले परिवर्तन चाहने भएकाले आफू निर्वाचन जित्नेमा ढुक्क भएको भण्डारीको तर्क छ।
२०६४ सालको निर्वाचनमा ज्ञवाली, २०७० मा भण्डारी, २०७४ मा ज्ञवाली निर्वाचित भएका हुन्। यसरी हेर्दा गुल्मी एकका मतदाताले आलोपालो नेतृत्वमा पुग्ने अवसर ज्ञवाली र भण्डारीलाई दिएका छन्। कतिपयले आलोपालोअनुसार यस पटक भण्डारीको पालो रहेको बताउँदै आएका छन्।
गुल्मी क्षेत्र नम्बर एकमा रहेका ५० वटा वडाहरु मध्ये गत बैशाखमा भएको स्थानीय तहको निर्वाचन अनुसार २३ वटामा एमाले, २२ वटामा कांग्रेस, ३ वटामा माओवादी केन्द्र र २ वटामा अन्य दलले जितेको जिल्ला निर्वाचन कार्यालय गुल्मीको तथ्यांकमा उल्लेख छ।








