सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु क्षेत्र नम्बर १ मा नेकपा (एमाले) ले क्लिन स्विप गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका दुई क्षेत्रमा नै एमालेका उम्मेदवारले विजयी हासिल गरेपछि यस निर्वाचन क्षेत्रमा एमालेले क्लिन स्विप गरेको हो । प्रतिनिधिसभामा बलराम अधिकारीले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका सचिव तथा पुर्वमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ लाई पराजित गरे ।
२०७४ को निर्वाचनमा बलदेवले यस क्षेत्रबाट चुनाव जितेका थिए । तर अहिले उनैलाई चुनाव जिताउन मुख्य भूमिका निर्वाह गरेका अधिकारीले हराएका हुन् । प्रतिनिधिसभामा अधिकारीले बलदेवलाई १५ हजार बढीको मतान्तरले हराएका हुन् ।
अधिकारीले ३४‚६५७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी खनालले १८‚९८३ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर १५,६७४ छ । क्षेत्र नम्बर १ को प्रदेश सभा १ तर्फ पनि एमालेका विष्णुप्रसाद पन्थी विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डोलकराम घिमिरेलाई पराजित गरेका हुन् । पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरे ।
पन्थी ४ हजार ४ सय ५० मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनबाट कांग्रेसका डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गरे । त्यस्तै प्रदेशसभा (२) मा पनि एमालेका मधुसूदनशरण चौधरी विजयी भए । उनी ११‚७४८ मत प्राप्त गरी विजयी भएका हुन् ।
१ लाख ४१ हजार १३ जना मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर १ मा ९२ हजार ४ सय ९० मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार क्षेत्र नम्बर १ मा पाँच दशमलव ८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा तीन दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर भएको छ । यस क्षेत्रमा एमालेले क्लिन स्विप गर्नुमा नेपाली कांग्रेसभित्रको आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्न नसक्दाँ यस्तो परिस्थिति सिर्जना भएको हो ।
यस्तै एमालेका उम्मेदवारलाई सत्तागठबन्धनका कतिपय नेताहरुले सहयोग समेत गरेको बताईएको छ । यस्तै गठबन्धनले सिटको बाँडफाड गर्दा क्षेत्र नम्बर १ नेकपा माओवादीको भागमा परेपछि यस क्षेत्रको एक पंक्ति नै रुष्ट थियो । जसको फलस्वरुप कांग्रेसका ललित गुरुङ्ग बागी उम्मेदवार बने । यसले पनि सत्तागठबन्धन कमजोर हुन पुग्यो ।
सत्तागठबन्धनबाट उम्मेदवार रहेका माओवादीका बलदेवले मन्त्री हुँदा समेत जिल्लाका लागी कुनै ठोस काम गर्न नसकेको भन्दै एमालेका नेता कार्यकर्ताले मतदाता समक्ष बताउँदै भोट माग्दै गरे ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षलाई आएको मतलाई विश्लेषण गरेर अघि बढेको गठबन्धनका उम्मेदवार आम निर्वाचन २०७९ मा क्षेत्र नम्बर १ पुर्ण रुपमा असफल भए ।








