गृहपृष्ठ Featured रुपन्देहीका तीन स्थानीय तह मिलेर वारुणयन्त्र सञ्चालन गर्ने

रुपन्देहीका तीन स्थानीय तह मिलेर वारुणयन्त्र सञ्चालन गर्ने

तिलोत्तमा ।

रुपन्देहीका तीनवटा स्थानीय तह मिलेर वारुणयन्त्र सञ्चालन गर्ने भएका छन् । जिल्लाका देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकाको संयुक्त लगानीमा वारुणयन्त्र सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

रोहिणी गाउँ कार्यपालिकाको कार्यालय, धकधईमा बसेको संयुक्त बैठकले तीनै पालिकाको लागत सहभागितामा वारुणयन्त्र खरिद गरी सञ्चालनमा ल्याउने निर्णय भएको ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताए ।

वारुणयन्त्र खरिदका लागि देवदह नगरपालिकाले ५० प्रतिशत, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाले २५/२५ प्रतिशत लगानी गर्ने सहमति भएको उनले जानकारी दिए । वारुणयन्त्र खरिद गरी सञ्चालनमा आएपछि विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको उनले जनाए ।

तीनै पालिकाको संयुक्त लगानीमा खरिद गरिएको वारुणयन्त्र देवदह नगरपालिका-१, मा व्यवस्थापन गरी सञ्चालन गर्ने निर्णय भएको छ । तीनै पालिकामा हुने विपद् व्यवस्थापन गर्ने गरी वारुणयन्त्र सञ्चालन कार्यविधि निर्माण गर्ने सहमति भएको हो ।

वारुणयन्त्र संचालन र व्यवस्थापनको कार्यविधि निर्माण गर्नको लागि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सदस्यहरूमा रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम सदस्य, देवदह नगरपालिकाका इन्जिनियर राजकुमार यादव र रोहिणी गाउँपालिकाका लेखा अधिकृत कृष्णप्रसाद ज्ञवाली रहेका छन् ।

सम्बन्धित् समाचार