नेपालगन्ज ।
नेपालगन्जमा शनिबार भएको आठौं संस्करणको म्याराथनमा विभागीय त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले उपाधि हात पारेका छन् । खडकले ४२.१९५ किमिको दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए ।
गत वर्ष पनि दोस्रो भएका आर्मीकै नरेन्द्र रावत यसपटक पनि दोस्रो भए । उनले २ घण्टा २२ मिनेट २९ सेकेन्डमा निर्धारित दुरी पार गरे । आर्मीकै मोहनदेव जोशी २ घन्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । २ घन्टा ४१ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै कमलराज तिमलसेना चौथो भए ।
उपाधिसँगै खडकले १ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो भएको नरेन्द्रले ६० हजार, तेस्रो भएको मोहनदेवले ३० हजार, चौथो भएको कमल राजले १५ हजार रुपैयाँ हात पारे । वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले २१ किमिको दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै उपाधि जित्न सफल भएकी हुन् ।
सान्तोषी सातौं संस्करणको पनि च्याम्पियन हुन् । उनले त्यसबेला १ घण्टा १८ मिनेट ४८ सेकेन्डको समय निकालेकी थिइन् । भारतकी अन्जली चौहानले १ घण्टा २५ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुन सफल भइन् । अन्जु खड्काले १ घण्टा ३६ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भइन् ।








