गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा १ सय १७ जना उम्मेदवारको जमानत जफत

कपिलवस्तुमा १ सय १७ जना उम्मेदवारको जमानत जफत

सागर वि.क., कपिलवस्तु ।

३ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय १७ जनाको जमानत जफत भएको छ । एक सय ४३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दश प्रतिशत भन्दा कम मत ल्याएका प्रतिनिधी सभातर्फ ४२ जनाको र प्रदेश सभातर्फ ७५ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुमा ९ पदका लागि एक सय ४३ जना उम्मेदवारको अन्तिम नामावलीमा प्रकाशन भएको थियो ।

विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधि सभाका लागि ५० जनाले उम्मेदवारी दिएका थिए भने ९३ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा १९, क्षेत्र नम्बर २ मा ९ र क्षेत्र नम्बर ३ मा १४ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सुचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिईन् ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले उपलब्ध गराएको तथ्याङ्क अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ को प्रदेश सभा १ तर्फ ६ र प्रदेश सभा २ तर्फ १५ उम्मेदवारको जमानत जफत भएको छ । यस्तै कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेश सभा १ क्षेत्र तर्फ १० र प्रदेश सभा २ तर्फ ७ जना उम्मेदवारको जमानत जफत भएको छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रदेश सभा १ तर्फ १६ र प्रदेश सभा २ तर्फ २१ जना उम्मेदवारको जमानत जफत भएको छ ।

३ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा कुल मतदाता तीन लाख ७८ हजार दुई ३२ रहेका थिए । जसमध्ये दुई लाख ५३ हजार पाँच सय नौ अर्थात ६७ दशमलव दुई प्रतिशत मत खसेको थियो भने ३७ हजार बढी मत बदर भएको थियो । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो ।

निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेको हकमा जमानत जफत हुने गरेको छ । प्रतिस्पर्धी उम्मेदवार मध्ये कपिलवस्तुबाट २६ जनाले मात्र जमानत जोगाउन सफल भएका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही रु. १० हजार र प्रदेश सभा सदस्यको उम्मेदवारले जनही रु. पाँच हजार जमानत (धरौटी) राख्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २२ बमोजिम प्रतिनिधिसभा सदस्यलाई १० हजार तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई ५ हजार रुपैयाँ धरौटी दाखिला गरेको रकमको धरौटी जफत हुने व्यवस्था छ ।

सम्बन्धित् समाचार