गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो ।
खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताउनुभयो । खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले बताए ।
चिदिचौर खेल मैदानमा यसअघि रेसुङ्गा नगरपालिका–८ ले सवारीसाधन पार्किङ, सिक्न र सिकाउन निषेध गरेको छ । तर यसको कार्यान्वयन भएको छैन । आज दिनभर यहाँ १५ देखि २० सम्म जीप र १० देखि १५ सम्म मोटरसाइकल पार्किङ गरिएको थियो । सवारी साधन आएपछि चिदिचौरमा पार्किङ गर्दा खेल्ने समयमा नै असर गरेको छ ।
पार्किङ गर्ने अन्यत्र ठाउँ नभएकाले बढी सवारी हुँदा सवारीधनी आफैँले चिदिचौरमा पार्किङ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारी बताए । उनले आफूहरूले चाहेर पनि हटाउन नसकेको गुनासो गरे ।