गृहपृष्ठ Featured दाङको देउखुरीमा पुस १५ मा मुख्यमन्त्रीहरुको सम्मेलन

दाङको देउखुरीमा पुस १५ मा मुख्यमन्त्रीहरुको सम्मेलन

रूपन्देही ।

निवर्तमान हुनैलागेका सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुने भएको छ । मुख्यमन्त्रीबाट बिदा हुनुपूर्व पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा सम्मेलन गर्ने तयारी गरिएको हो ।

प्रदेशसभाले पुस २१ गते नयाँ सदस्यलाई शपथ खुवाउने र पहिलो बैठकबाट प्रदेशहरुमा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुने भएकाले मुख्यमन्त्रीहरुले त्यसअघि नै सम्मेलन गर्न लागेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रस्तावमा लुम्बिनीमा सम्मेलन गरेर प्रदेशको ५ वर्षे समीक्षा र संघीयता कार्यान्वयनका लागि अब बन्ने नयाँ संघीय संसद्‌लाई सुझाव दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । लुम्बिनी प्रदेश सरकारले नयाँ स्थानमा स्थायी राजधानी कार्यान्वयन गर्न लागेको प्रचार र दाङको देउखुरीमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको भ्रमण गराउने उद्देश्यले पनि देउखुरीमै सम्मेलन आयोजना गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

सम्मेलनमा लाग्ने खर्च लुम्बिनी प्रदेश सरकारबाटै हुनेछ । सम्मेलनमा लुम्बिनीका केसीसहित प्रदेश १ का राजेन्द्र राई, मधेस प्रदेशका लालबाबु राउत, वाग्मतीका राजेन्द्रप्रसाद पाण्डे, गण्डकीका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिमका त्रिलोचन भट्ट सहभागी हुनेछन् ।

सम्बन्धित् समाचार