रुपन्देही ।
बुटवलमा दुई वटा केबुलकार निर्माणको काम धमाधम भइरहेका छ । लुम्बिनी केबुलकार र सिद्धार्थ केबुलकार कम्पनीले भारत तथा तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटकहरूलाई बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने योजना सहित आफ्नो परियोजनालाई तीव्रता दिएका हुन् ।
बुटवल उपमहानगरपालिका–३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा छ ।
यो केबुलकार व्यवसायी चन्द्र ढकाल लगायतको समूहको हो । २ महिनाभित्र सम्पन्न गर्ने गरी अहिले बुटवल र पाल्पा तर्फका स्टेसन निर्माणको काम भइरहेको छ । केबुलकारका लागि आवश्यक पोलहरू भने गाड्ने कार्य गरिसकिएको कम्पनीले जनाएको छ ।
लुम्बिनी केबुलकारको लागि साढे तीन अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको छ । यहाँ पाँचतारे होटेल र पार्कसहितका संरचनामा पनि लगानी रहेको छ । वसन्तपुर डाँडामा १५० कोठाको पाँचतारे स्तरको होटेल बन्ने छ । सो निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने दाबी कम्पनीको रहेको छ । यो केबुलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
त्यसको केही हप्तापछि एमाले उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेको सिद्धार्थ केबुलकारको काम पनि धमाधम भइरहेको छ । बुटवलको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबुलकार पाल्पाको नुवाकोट पुग्नेछ ।